आईसीसी ट्वान्टी–२० विश्वकप छनोटः जितसहित सुखद सुरुआतको लक्ष्यमा नेपाल

खबर खुराक
१३ कार्तिक २०८०

काठमाडौं, १३ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा आज सिंगापुरविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछन् ।

आजै बिहान नौ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुने समूह ‘बी’को खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले बहराइनविरुद्ध खेल्नेछ । यस्तै, दिउँसो १ः१५ बजे कीर्तिपुरमा ओमान र मलेसियाले खेल्दा मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।