पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री

कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री

खबर खुराक
१७ माघ २०८० ११:५८

१७ माघ,काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभयो । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “कृषिक्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।” उहाँले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको उल्लेख गर्नुभयो ।

विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्नेे लक्ष्यअनुरूप विभिन्न प्रदेशमा ८ वटा कृषि सङ्काय र १ वटा वनविज्ञान सङ्काय अन्तर्गतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्नुहुँदै  उहाँले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिनुभयो ।

‘उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ’
यसैगरी, प्रधानमन्त्री प्रचण्डले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवम् राष्ट्रिय व्यापारघाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवम् गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवर्द्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताउनुभयो ।

आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बतानुहुँदै प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारवाला सङ्घसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिनुभयो ।

विश्वव्यापी रूपमा बढ्दै गइरहेको जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभयो ।

विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलापहरू, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्यहरू, भौतिक पूर्वाधार र कलेजहरू विकासजस्ता कार्यलाई दिगो रूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशुविज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।



प्रतिक्रिया