एमाले पाल्पाको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न
चैत २५, पाल्पा । नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले असंवैधानिक तरिकाले पार्टी अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको बताउनुभयो । तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो ।यद्यपि संविधान, कानुनको भने एमालेले सम्मान गर्ने बताउनुभयो ।
पार्टीले गरेका गल्तीबारे जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । नेतृत्व परिवर्तन गर्नेगरी पार्टी छलफल अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो । अब बस्ने केन्द्रीय कमिटी बैठकले अन्योलतालाई अन्त्य गर्ने गैरेले बताउनुभयो ।
सुशासन भ्रष्टाचारको विरुद्ध जहिले एमाले रहने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य नारायण आचार्यले भेलामा प्राप्त भएका सुझाव अनुसार पार्टीलाई अगाडि बढाउने बताउनुभयो ।
क्षमताका हिसाबले पाल्पामा एमाले नै ठूलो पार्टी भएको बताउनुभयो । अहिलेको निर्वाचन नै अन्तिम होइन । आगामी निर्वाचनमा जित्ने गरी जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । पार्टी अनुशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विना शर्त रिहाइ गर्न माग गर्नुभयो । कल्पना नगरेको हार व्यहोर्नुपरेको छ । अब पार्टीलाई व्यवस्थित गर्नुपर्ने भएको छ । केन्द्रीय सचिवालयको निर्णय अनुसार कार्यक्रम आयोजना गरेर चलायमान गराउन अनुरोध गर्नुभयो । अब काम नगर्ने भद्दा कमिटी आवश्यक नरहेको उहाँले बताउनुभयो । जनतालाई दास सम्झिनु हुँदैन । पार्टी पुरानो किसिमले नचल्ने बताउनुभयो ।
संविधान सभा सदस्य तथा केन्द्रीय निर्वाचन आयोगका सदस्य नारायणी शर्माले अहिले प्राप्त मत परिणामले हतास नहुन आग्रह गर्नुभयो । कार्की आयोगको नाममा प्रतिशोध साँधिएको बताउनुभयो ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले एमालेका उम्मेदवारलाई मत दिने मतदातालाई धन्यवाद दिनुभयो । नेतृत्वमा हुने विवादले पार्टी कमजोर बन्दै गएको छ । एकतालाई सुदृढ बनाउन नसकेको हुँदा पार्टीले नसोचेको पराजय व्यहोर्नुपरेको बताउनुभयो ।
बैशाख भित्र टोल कमिटी बैठक सम्पन्न गर्न निर्देशन दिनुभयो ।
केन्द्रीय अनुशासन आयोगका पूर्व सदस्य झपेन्द्र जिसीले समय परिस्थिति अनुसार पार्टीलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बगनासकाली गाउँ कमिटी इन्चार्ज टीकाबहादुर थापाले राम्रो कामको प्रचारप्रसार गर्ने नसक्दा परिणाम उल्टो आएको बताउनुभयो ।
एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय युवालाई समेटेर चुस्त दुरुस्त कमिटी बनाउने बताउनुभयो ।
रौनादेवी छहरा गाउँ कमिटी अध्यक्ष शेषकान्त पोखरेलले युवाहरूसँग नजिक भएर काम गर्नुपर्ने बताउनुभयो ।
रिब्दीकोट गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनालले केन्द्रदेखि स्थानीयस्तरसम्म पार्टीमा सुधार हुनुपर्ने बताउनुभयो ।
तिनाउ गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरीले सबै एकजुट भएर पार्टीलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
पूर्वखोला गाउँ कमिटीका अध्यक्ष रविन्द्र पंगेनीले डिजिटल मिडियाको प्रयोग गरेर चुनाव प्रचारप्रसार गर्न नसकिएको बताउनुभयो ।
निस्दी गाउँ कमिटी अध्यक्ष रामबहादुर पाटाले पार्टी शुद्धीकरण गर्नुपर्ने बताउनुभयो ।
रम्भा गाउँ कमिटी अध्यक्ष धनबहादुर पौडेलले पार्टी भन्दापनि व्यक्तिगत स्वार्थमा लाग्ने गरेको हुँदा पराजित व्यहोर्नुपरेको बताउनुभयो ।
माथागढी गाउँ कमिटी अध्यक्ष उपाध्यक्ष खेमान दिशाले आन्तरिक र नेतृत्वको कमजोरीले चुनावमा हार व्यहोर्नुपरेको बताउनुभयो ।
रामपुर गाउँ कमिटी अध्यक्ष लीलबहादुर गहाले कम्युनिष्टको विचार र सिद्धान्त छाड्दा पार्टी अहिले यो अवस्था पुगेको बताउनुभयो ।
यसैबीच भेलाले समसामयिक प्रस्ताव पारित गरेको छ । नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले प्रस्ताव पेस गर्नुभएको थियोे ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विना शर्त रिहा गर्न माग गरिएको छ । असंवैधानिक र गैरकानुनी रूपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्की आयोगले तयार पारेको प्रतिवेदन एक पक्षीय भएको हुँदा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्न भेलाले माग गरेको छ ।
अमिशा पराजुली लगायत साइबर बुलिङमा परेका अन्य पीडितलाई न्याय दिनुपर्ने, ट्रेड युनियन र विद्यार्थी संगठन विघटन गर्ने निर्णय फिर्ता हुनुपर्ने, निजी सञ्चार माध्यमलाई विज्ञापनमा गरिएको विभेद तत्काल रोकिनुपर्ने, युद्ध चलिरहेका देशमा रहेका नेपालीको सुरक्षा र नेपाल फर्किने वातावरण मिलाउन माग गरिएको छ ।
घिमिरेका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र सार्वजनिक सवारी साधनमा बढाइएको भाडा घटाउन माग गरिएको छ ।
फागुन २१ गतेको निर्वाचनमा एमालेलाई मत दिएका मतदातालाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको उहाँले बताउनुभयो ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको भेलामा ५०० बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा उपसचिव मीना जिसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस