३३औं मदन- आश्रित स्मृति दिवसमा पाल्पामा अन्तक्रिया
मिलन विक
पाल्पा, ३ जेठ । नेकपा एमाले पाल्पाको आयोजनामा ३३औं मदन- आश्रित स्मृति दिवसमा पाल्पामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर प्रसाद गैरेले जीप दुर्घटनाको आवरणमा मदन-आश्रितको दु:खद हत्या भएको बताउनुभयो । यसको छानबिन हुन आवश्यक रहेको बताउनुभयो । शान्तिपूर्ण आन्दोलनबाट नेपालको सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने बताउनुभयो । प्रतिस्पर्धाको राजनीति अगाडि बढाउनुपर्ने जबजको उद्देश्य भएको बताउनुभयो । विचार र आन्दोलनले कुनै पनि पार्टी पुरानो हुँदैन । विचार, नीति र सिद्धान्तले नेकपा एमाले कहिल्यै पुरानो नहुने उहाँले बताउनुभयो । हतारमा पार्टी एकता गर्न नहुने उहाँको भनाइ छ ।
एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले मदन भण्डारी र जीवराज न्यौपानेको जीवनी बारे अवधारणा प्रस्तुत गर्नुभएको थियो । कुनै पनि सरकारले सुशासन र समृद्धि हुनेगरी काम गर्न नसकेको बताउनुभयो । सामाजिक संजाल बन्द गर्ने निर्णयले विस्फोट भएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनबाट पछि भएको निर्वाचनबाट बनेको सरकारले जनताको हितमा काम नगरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ दल पुरानो नहुने बताउनुभयो । विचारबाट चल्ने दल भएका कारण कुनै पनि दल नयाँ र पुरानो हुँदैन । हामीलाई भोट नदिएका जनता अहिले पछुतो मानेर बसिरहेका छन् । राजनीति इमानदारिता र निष्ठाले गर्ने हो । अहिलेको निर्वाचन परिणामले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्माले नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको हो भन्ने बहस चलिरहेका बेला यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित देशभक्त नेता भएको बताउनुभयो । कम्युनिस्ट पार्टीका नाममा खुलेका धेरै पसल छन् । अब एकताबारे बहस चलाउनुपर्ने बताउनुभयो । वैचारिक, राजनीतिक के कारणले अहिले यो अवस्था आएको हो ? यसको समीक्षा हुनुपर्ने बताउनुभयो । कम्युनिस्ट पार्टी भित्र एकताका लागि बृहत समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले मदन भण्डारीको दुर्घटना परेर मृत्यु भएको घटनाको अवस्थाबारे तत्काल पत्ता लगाउनुपर्ने बताउनुभयो । कम्युनिस्ट पार्टीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्छ । सबै पार्टीका नीति विचार खासै फरक नभएको हुँदा अहिले यो परिणाम आएको उहाँले बताउनुभयो । संविधान संशोधन गर्न आवश्यक छ । सुशीला कार्कीले फकाइ फकाई पुराना दललाई भड्खालोमा हालेको उहाँले आरोप लगाउनुभयो । बाढी सरह आएको अहिलेको सरकार पनि धेरै समय नटिक्ने कुँवरले ठोकुवा गर्नुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य सुकुमार सिले अब नयाँ सिराबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताउनुभयो । नेता तथा कार्यकर्तालाई राजनीतिक, वैचारिक र सिद्धान्तबारे स्कुलिङको अभावले कम्युनिस्ट आन्दोलन संकटमा परेको उहाँले बताउनुभयो । एक आपसमा लडेर कम्युनिस्ट सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल काफ्लेले स्वागत र सचिव रामजी पोखरेलले संचालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस