एमालेलाई गलत ढंगले नचलाउन सचिव विश्वकर्माको चेतावनी

खबर खुराक
३० साउन २०८३

मिलन विश्वकर्मा
पाल्पा, ३० साउन । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेलाई गलत ढंगले नचलाउन चेतावनी दिनुभएको छ ।

एमाले पाल्पाको पाँचौ बैठकलाई शनिबार तानसेनमा सम्बोधन गर्दै उहाँले सत्ताको उन्मादमा एमालेलाई चलाउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभएको हो । गत फागुनमा भएको निर्वाचन सुनामी जस्तै हो । टिकिरहदैन । अहिले आत्तिनु पर्ने अवस्था छैन । मुलुक बनाउने एक मात्र पार्टी एमाले भएको उहाँले बताउनुभयो । नचाहेर पनि देश र जनताको हितमा काम गर्ने जिम्मेवारी एमालेको काँधमा आउने विश्वकर्माले बताउनुभयो ।

एमालेले राष्ट्रियता र जनताको हितमा काम गर्दा घेराबन्दीमा परेको छ । अहिलेको रास्वपा सरकारले एमालेलाई कसरी सिध्याउन सकिन्छ भनेर प्रहार गर्ने दुस्साहस गरिरहेको छ । यस्तो प्रयास सफल नहुने उहाँले बताउनुभयो ।

जन अभिमतको एमालेले सम्मान गर्दछ । अहिलेको सरकारले जनताको हितमा काम गरे सहयोग गर्नेछौं। जनहित विपरीत काम गरे खबरदारी गरिने उहाँले बताउनुभयो ।

बालेन नेतृत्वको सरकारले कानुन सम्मत काम गरिरहेको छैन । अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलन बनाइरहेको छ । यस्ता गतिविधि नसच्याए त्यसको विरुद्धमा आवाज उठाउने नेता विश्वकर्माले बताउनुभयो । इगोको राजनीति सफल हुँदैन । अहिलेको सरकारले जनतालाई सेवा दिने भन्दा पनि विपक्षी दलका नेतालाई धम्काउने थर्काउने र अनाहकमा पक्राउ गरेर आतंकित पार्ने काम गरिरहेको छ। कानुनको धज्जी उडाएर सत्ताको उन्माद नदेखाउन उहाँले चेतावनी दिनुभयो ।

एमाले पार्टीका नेता तथा कार्यकर्ता अनुशासनमा रहनुपर्ने उहाँले बताउनुभयो । एमालेमा रहेर फ्री स्टायलमा चल्ने अनुमति छैन । कुस्ती खेलमा त नियम हुन्छ । एमालेमा पनि आफ्नै खालको नीति नियम भएको हुँदा पार्टी सिस्टममा चल्न  विश्वकर्माले आग्रह गर्नुभयो ।

आगामी दिनमा पार्टीलाई मजबुत बनाएर अगाडि बढ्ने विषयमा पार्टी केन्द्रको सचिवालयमा छलफल भइरहेको उनले बताउनुभयो ।

प्रदेश स्तरमा छलफल गरेर सुझाव प्राप्त भएको छ । कार्यदलले प्राप्त सुझावलाई समावेस गरेर प्रतिवेदन तयार गरिरहेको विश्वकर्माले बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहनुभएका विश्वकर्माले पार्टीको मिशन जागरण अभियान संचालन भएको बताउनुभयो । तल्लो तहमा रहेका जनता र पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकसँग प्रत्यक्ष जोडिने गरी काम गर्न यस अभियानको लक्ष्य रहेको सचिव विश्वकर्माले बताउनुभयो ।

आफ्नो जिम्मेवारी इमानदार पूर्वक पूरा गर्न सुझाव दिनुभयो ।

बैठकमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्य, केन्द्रीय सदस्य सरस्वती चिदी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतको उपस्थिति रहेको थियो ।

एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको बैठकमा एमाले लेखा आयोगका केन्द्रीय उपाध्यक्ष धनेन्द्राराज घिमिरेले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

उपाध्यक्ष विमल काफ्लेले स्वागत गर्नुभएको बैठकमा सचिव रामजी पोखरेलले संचालन गर्नुभएको थियो ।

बैठकमा एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले पार्टी केन्द्रको अन्तर पार्टी निर्देशन र प्रदेश कमिटीको आन्तरिक कमिटी निर्देशनबारे जानकारी गराउनुभएको थियो ।

बैठकमा पालिका कमिटी अध्यक्षले रिपोर्टिङ गरेका थिए ।

सहभागिले पार्टी पुनर्गठन गर्नुपर्ने लगायताका बारेमा सुझाव दिएका थिए ।