लायन्स क्लब अफ बुटवल ईलिटद्वारा प्रतीक्षालय निर्माण तथा वातावरणमैत्री झोला वितरण

खबर खुराक
१८ साउन २०८३

बुटवल–१७ । लायन्स क्लब अफ बुटवल ईलिटले तिलोत्तमा नगरपालिका–२, शंकरनगर चोकमा सार्वजनिक प्रयोगका लागि प्रतीक्षालय निर्माण गरी हस्तान्तरण गरेको छ । यात्रु तथा सर्वसाधारणलाई सहज रूपमा बस्न र प्रतीक्षा गर्न सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षालयबाट स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।
क्लबका अध्यक्ष लायन सुवास अर्याल एमजेएफ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक गभर्नर पिएमजेएफ लायन सन्दिप कशौधरन ज्यूको प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


कार्यक्रममा लायन कृष्ण पाण्डे, चरिजन चेयर पर्सन लायन कृष्ण प्रसाद आचार्य एमजेएफ, एरिया सेक्रेटरी तथा क्लवका संस्थापक अध्यक्ष लायन सन्तोष आचार्य लगायत क्लवका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै, माझ गाउँ टोल विकास संस्थाका अध्यक्ष सिता अर्यालय सहित संस्थाका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका संयोजक लायन अरुण कुमार ज्ञवाली एमजेएफ ले गर्नुभएको थियो । उक्त प्रतीक्षालयको निर्माणका लागि आवश्यक सौजन्यसमेत उहाँले नै प्रदान गर्नुभएको थियो ।
यस अवसरमा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई वातावरणमैत्री झोला वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।


प्रमुख अतिथिले लायन्स क्लब अफ बुटवल ईलिटले समुदायको आवश्यकता पहिचान गर्दै प्रतीक्षालय निर्माण र वातावरण संरक्षणका लागि वातावरणमैत्री झोला वितरण गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता रचनात्मक, जनमुखी तथा वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, माझ गाउँ टोल विकास संस्थाका अध्यक्ष सिता अर्याल ले आफ्नो क्षेत्रमा प्रतीक्षालय निर्माण गरी स्थानीयवासी तथा यात्रुहरूलाई सुविधा उपलब्ध गराएकोमा लायन्स क्लब अफ बुटवल ईलिट तथा प्रतीक्षालयका सौजन्यकर्ताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा पनि क्लब र टोल विकास संस्थाबीच सहकार्य र समन्वय अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमलाई सफल बनाउन उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, माझ गाउँ टोल विकास संस्थाका पदाधिकारी, लायन्स क्लबका सम्पूर्ण सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति लायन्स क्लब अफ बुटवल ईलिट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन राजेन्द्र ज्ञवाली ले गर्नुभएको थियो ।