के हो शापु रोग ? लक्षण के–के हुन् ?

खबर खुराक
७ भदौ २०८०

७ भदौ, काठमाडौं । शापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो । सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण  गर्छ । सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ ।

खेतबारीमा पाइने सेतो  रङमा कालो धर्सा मिसिएको पुतलीले यो रोग ल्याउँछ । पुतलीबाट सर्ने यो कीटाणु स्टटोकोसनिमोनी स्टाफओरियन्स हो । यही कीटाणु संक्रमण भयो भने आँखाको ज्योति गुम्छ । तर कतिपय अवस्थामा सो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने भएकाले हालसम्म यस रोगको खास कारण यही हो भनेर पत्ता नलागेको चिकित्सक बताउँछन् ।

लक्षण के–के हुन् 

 एक्कासी एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखा दुख्नु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्काल कमी हुनु यो रोगका प्रमुख लक्षण हुन् । यो रोग एउटा आँखामा मात्र देखिने तर अर्को आँखामा नसर्ने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

के छ उपचार 

समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने चिकित्सकको भनाइ छ । उहाँले भन्नुभयो, “यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ । आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगरौं । समयमा नै उपचार भएमा आँखा निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।”

रोकथाम कसरी गर्ने 

सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राती झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्न नेत्ररोग विशेषज्ञको सुझाव छ ।

जथाभावी आँखामा हात नलैजाने, आँखा छुनुपरेमा राम्ररी साबुन पानीले हात धोएर मात्र छुन चिकित्सकको सुझाव छ । आफुखुसी कुनै पनि आँखाको औषधि तथा जडिबुटि नराख्ने चिकित्सकको आग्रह छ । आँखामा कुनै पनि समस्या देखिएमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिन उपचार गर्ने नेत्ररोग विशेषज्ञको सुझाव छ ।