आँखामा आनो किन आउँछ ?

खबर खुराक
१४ वैशाख २०८१ १७:२७

१४ वैशाख, काठमाडौं । आँखामा हुने विभिन्न समस्यामध्ये एक आनो आउनु पनि हो । आँखाको परेला (माथिल्लो वा तल्लो)मा गिर्खा जस्तो डल्लो देखियो भने त्यसलाई आनो भनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्टाइ’ भनिन्छ । यो एक प्रकारको खटिरा जस्तै हुन्छ, जुन आँखाको परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरा र परेलाको तेल ग्रन्थीमा ‘स्टेफाइलोकोकस’ ब्याक्टेरियाको संक्रमणको कारण हुनेगर्छ ।

फोहोर हातले आँखा माड्दा, आँखा धेरै मिचिरहँदा, फोहोर पानीले आँखा धुँदा र परेमा चाया पर्ने समस्याको कारण आनोको समस्या हुन्छ । त्यस्तै आनो भएको व्यक्तिले प्रयोग गरेको रुमाल स्वस्थ व्यक्तिले प्रयोग गर्दा पनि आनोको समस्या हुनेगर्छ ।

आनो पनि दुई प्रकारका हुन्छन्- दुख्ने र नदुख्ने ।

दुख्ने अर्थात बाहिरी आनो

दुख्ने आनो बाहिरबाट देखिने हुन्छ, त्यसैले यसलाई बाहिरी आनो भनिन्छ । जुन आँखाको परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरा र परेलाको तेल ग्रन्थीमा ‘स्टेफाइलोकोकस’ ब्याक्टेरियाको संक्रमणको कारण हुनेगर्छ । संक्रमण भएपछि परेलाको जराबाट निस्किने ग्रन्थी बन्द भएपछि आँखालाई चिल्लो, ओसिलो बनाउने बाटो बन्द हुन्छ र डल्लो आउँछ । यो परेको जरामा आउँछ ।

लक्षण

यसको मुख्य लक्षण दुखाइ हो । त्यस्तै आँखाको परेला सुन्निने, आँखामा पिप जम्ने, रातो हुने, आँखाबाट आँसु बगिरहने वा चिप्रा आउने, घाम वा प्रकाशमा हेर्न अप्ठ्यारो हुने, आँखा चिलाइरहने र माड्न मन लाग्ने जस्ता लक्षण देखापर्छ ।

दुख्ने आनो आएको चार-पाँच दिनमा पिप जमेर ठूलो हुन्छ । जसबाट पिप निस्किन्छ र आफैं निको हुने गर्छ । कहिलेकाहीं पिप आफैं ननिस्केको अवस्थामा पिप नजिकैको एउटा परेला उखाल्दा पनि पिप निस्किन्छ । यो बिस्तारै कम हुँदै जान्छ ।

नदुख्ने आनो

नदुख्ने आनोलाई भित्री आनो पनि भनिन्छ । परेलाको डिलको भित्री भागमा आउने यो आनो दुख्दैन । आनो आफूले छाम्दा वा अरुले हेर्दा देखिने र अप्ठ्यारो महसुस हुन्छ तर आँखा दुख्ने र पाक्ने भने हुँदैन । यस्तो अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।



प्रतिक्रिया