मिर्गौला रोगीहरुले पानी, पोटासियम र फस्फरोसको सेवन किन कम गर्ने?

खबर खुराक
२ जेठ २०८१

दीर्घ मिर्गौला रोगको पहिलो कारण चिनी हो भने दोस्रो उच्च रक्तचाप हो। चिनी र प्रेसरका कारण नै धेरै मानिसहरुको मिर्गौलामा खराबी आउने गर्छ।उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको अवस्थामा रक्तचाप बढाउने खानेकुराको सेवन गर्नु हुँदैन।

उच्च रक्तचापका कारण मिर्गौलामा खराबी आएमा नुन भएको खानेकुराको सेवन एकदमै कम गर्नुपर्ने हुन्छ।

यदि चिनीको कारण मिर्गौलामा खराबी देखिएमा चिनीजन्य खानेकुराको सेवन एकदमै घटाउनुपर्छ । यस्तो अवस्थामा कृत्रिम रुपमा गुलियोको प्रयोग भएका खानेकुराहरुको सेवन गर्नुहुँदैन।

मिर्गाैलाका रोगीहरुले विशेष गरी ३ प्रकारका खानेकुरामा जोड दिनुपर्ने हुन्छ।

मिर्गौला रोगीहरुले पानी पिउने कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै फोस्फोरस तथा पोटासियमयुक्त खानेकुराहरुको पनि कमी गर्नुपर्ने हुन्छ।

मिर्गौला रोगीहरुले किन धेरै पानी नपिउने?
राम्रोसँग पिसाब आइरहने मिर्गौला रोगीहरुलाई पानीको मात्रा केही बढी भएपनि फरक पर्दैन। यद्यपि धेरैजस्तो मिर्गौला रोगीहरुमा राम्रोसँग पिसाब नबन्ने समस्या हुन्छ । राम्रो पिसाब नहुँदा शरीरमा पानीको मात्रा बढ्दै गई शरीर सुन्निने समस्या हुने गर्छ।

उक्त पानी फोक्सो र मुटुमा जम्मा हुँदा स्याँ– याँ हुने, श्वासप्रश्वास बढ्ने हुनाले मिर्गौला रोगीहरुले सकेसम्म पानी  कम पिउनुपर्ने हुन्छ। त्यसैले चिकित्सकहरुले मिर्गौला रोगीहरुलाई दैनिक कति पिसाब हुन्छ मापन गर्नका लागि सुझाव दिन्छन्।

यदि कुनै बिरामीको २४ घन्टामा ५ सय मिलिलिटर मात्रै पिसाब हुन्छ भने उक्त बिरामीले २४ घन्टामा १ हजार मिलिलिटर  पानी पिउन सक्छन्।
कतिपय मिर्गौला रोगीहरुमा पिसाब नै नहुने समस्या हुने गर्छ। त्यस्ता बिरामीहरुले बढी पानी पिएमा उनीहरुलाई समस्या पर्न सक्छ।

त्यस्ता बिरामीहरुले प्यास लाग्दा मुखमा आइस राख्ने, रुमालमा पानी भिजाएर मुखमा राख्ने, चुइँंगम चपाउने गर्नुपर्छ।

पोटासियमको कम भएको मात्रै किन खाने?
मिर्गौला रोगीहरुमा पोटासियम बढ्छ। मानव शरीरमा उक्त तत्वले मांशपेशीहरुलाई खुम्चाउने तथा फुलाउने तथा शरीरलाई तागत दिने काम गरिरहेको हुन्छ।

कतिपय मिर्गौला रोगीहरुमा पोटासियमको मात्रा एकदमै बढी रहेको हुन्छ। सामान्यतया मानव शरीरमा पोटासियमको मात्रा ३.५ देखी ५ सम्म हुने गर्छ। तर मिर्गौलाका बिरामीहरुमा भने यसको मात्रा ७ प्रतिशतसम्म हुन सक्छ।

यसरी पोटासियमको मात्रा उच्च हुँदा त्यसको प्रत्यक्ष असर मुटुमा पर्ने गर्छ। यसको मात्रा ७ सम्म पुग्दा बिरामीको मृत्यु समेत हुनसक्छ। यसकारण मिर्गौला रोगीहरुले समय समयमा शरीरमा रहेको पोटासियमको मात्रा परीक्षण गराउने तथा पोटासियमयुक्त खानेकुराको सेवन कम गर्नुपर्छ।

फलफूलहरुमा सुन्तला र केरामा बढी मात्रामा पोटासियम पाइने भएकोले मिर्गौला रोगीहरुले यस्ता खानेकुराको सेवन गर्नुहुँदैन। स्याउमा पोटासियमको मात्रा कम हुने भएकोले फलफूलहरुमा स्याउको सेवनलाई प्राथमिकता दिँदा राम्रो हुन्छ।

त्यसैगरी पोटासियमको मात्रा बढी भएका खानेकुरा गोलभेंडा, आलु, हरियो सागको सेवन गर्नुहुँदैन। काउली, ब्रोकाउली जस्ता पोटासियमको मात्रा कम भएका तरकारीको सेवन गर्नुपर्ने हुन्छ।

शरीरमा फस्फोरसको मात्रा कम गराउने 
मिर्गौला रोगीहरुमा फस्फोरसको मात्रा बढ्दै जाने गर्छ। फस्फोरसको मात्रा शरीरमा बढ्दै जाँदा त्यसले क्याल्सियमको मात्रालाई कम गराउने तथा हड्डीलाई मक्काउने गर्छ।

जसले शरीरमा रगत बग्ने धमनीहरुलाई समेत कडा बनाउँदै लैजान्छ। चिकित्सकको सल्लाह बमोजिम फस्फोरसको मात्रालाई कम गराउने औषधीहरुको सेवन पनि गर्न सकिन्छ।

यद्यपि फोस्फोरसयुक्त खानेकुराको सेवन कम गरी शरीरमा फोस्फोरसको मात्रा बढ्नबाट रोक्न सकिन्छ।

कतिपय जातजातीमा सुँगुरको सेवन बढी गर्ने प्रचलन रहेको हुन्छ। सुँगुरमा फोस्फोरसको उच्च हुने भएकोले यस्ता खानेकुराको सेवन कम गर्नुपर्ने हुन्छ।
त्यसबाहेक दूधजन्य पदार्थ तथा पाउरोटीहरुमा समेत फोस्फोरसको मात्रा बढी हुने भएकोले यस्ता खानेकुराको सेवन गर्नुहुँदैन।

(डा शाह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन्।)