कसरी हुन्छ अल्सर ? के छ उपचार ?

खबर खुराक
८ भदौ २०८०

आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो। ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ। त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ। अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन्।

अल्सरले विरामीको रक्तस्राव हुने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण हुन्छ। उपचार नभए लामो समयमा ती घाउमा प्वाल पनि पर्न सक्छन्। तर सुरुको मुख्य लक्षण रक्तस्राव नै हो।

अनुसन्धानकर्ताहरूका अनुसार, अल्सरको मुख्य कारण एक प्रकारको जीवाणु हो, जसलाई ‘हेल्कोब्याक्टर पाइलोरी’ भनिन्छ। यस्तो जीवाणु सर्ने तरिकावारे उनीहरूको फरक–फरक मत छ। तर यो मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ। सर्ने माध्यम र प्रक्रिया स्पष्ट हुन सकेको छैन। सानो शिशुको हेरचाहका क्रममा र कुवाको पानी लगायतबाट यो जीवाणु सर्नसक्ने भनेर उनीहरूले औल्याएका छन्। त्यो जीवाणु रहने मानव अंग आमाशय नै हो। अल्सरको प्रमुख कारण ‘एच–पाइलोरी’ जीवाणु हो भनेर पत्ता लागेको पनि धेरै समय भएको छैन।

सन् १९९० को दशकको अन्त्यतिर यो पत्ता लागेको हो। त्यसभन्दा अघि अल्सरको कारण धेरैलाई थाहा थिएन। यहि अनुसन्धानका लागि सन् २००५ मा अष्ट्रेलियाका बैंज्ञानिकले नोबेल पुरस्कार पनि पाएका थिए। औषधि सेवनको असर स्वरुप पनि अल्सर हुने गरेको भेटिएको छ। एस्पिरिन, पेनकिलर खाइरहनुपर्ने बिरामीलाई अल्सरको समस्या देखिनसक्छ।  क्यान्सर पनि ग्यास्टिकको अर्को कारण हुनसक्छ। खाना नपच्ने, नरुच्ने, पेट ढाडिएको जस्तो हुने आदि लक्षण देखिनसक्छ।

अल्सर भएमा के खाने ?

पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ। यस बाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ।

सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्दत मिल्छ। बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टि , बेसार मिसाएको दुध आदि खानु राम्रो हुन्छ।

हेलियोब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको कारण भएको पेटको फोरालाई ठिक गर्नको लागि यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन्।

यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नको लागि सक्रिय बनाउँछ। यसको मद्धतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ।

केही सोधबाट ओलिभ आयल पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ।

कसरी गर्ने अल्सरको उपचार ?

जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर उछालिएर आउने समस्या हुन्छ। उनीहरुलाई अमिला खानेकुरा खान र पिउनबाट निषेध गर्नुपर्छ।

खासगरि कफी, चकलेट, पिरो र मसालादार खाना, मदिरा, टमाटर र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन। त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम अन्तर राख्ने गर्न हुँदैन।

हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन भने यो खतरनाक हुन्छ। अवस्था बिग्रदै गएर पछि पेटको क्यान्सर समेत हुन सक्छ।