कतै तपाईको बच्चालाइ अटिजम भएको त छैन ? अटिजम भएको कसरी थाहा पाउने ?

खबर खुराक
१९ भदौ २०८०

विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन् ।

अटिजम भएका बालबालिकालाई ‘रोगी’ भन्ने प्रचलन छ । तर यो रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ ।

अटिजम के हो?

अटिजम भनेको मानिसको दिमागको एउटा विशेष अवस्था हो । यो विकासमा आएको असमानता हो, जसलाई हामी विकासात्मक अपांगता पनि भन्छौं । यसको कारणले गर्दा बच्चाले दोहोरो संवाद गर्न नसक्ने, आफ्ना कुरा व्यक्त गर्न गाह्रो हुने, उनीहरूले अरुको कुरा बुझेर आफ्नो व्यवहार परिवर्तन गर्न सक्दैनन् । यस्तो सामाजिक र सञ्चारसम्बन्धी समस्या अटिजममा देखापर्छ । यो एउटा  आजिवन अपांगता हो ।

यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन ।

यो प्रारम्भमा देखिँदैन, बच्चा हुर्कँदै गएपछि देखिन्छ । छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गर्छ ।

बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा बालबालिकाले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने, मिलेर खेल्ने, ईर्ष्या गर्ने गर्छन् । तर, यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ ।

यसलाई कसरी पहिचान गर्न सकिन्छ ?

बालबालिकाहरू दुई अढाई वर्ष पुगेपछि आफ्नो उमेरको अरु बच्चासँग खेल्न रुचाउने, आकर्षित हुने, उनीहरूले जे ग¥यो आफू पनि दौडिएर गर्न खोज्ने हुन्छ । तर अटिजम भएको बच्चाले त्यो तहको व्यवाहर गर्न सक्दैन । अर्थात आफ्नो लेबलको बच्चासँग घुलमिल हुने, खेल्ने, खेलको नियम बुझेर सँगै खेल्ने, आलोपालो खेल्न सकिरहेको हुँदैन ।

आँखामा आँखा नजुधाउने, बोलाउँदा नहेर्ने, कहिलेकाहीँ अभिभावकले बच्चाले कानपो नसुनेको हो कि भनेर झुकिन्छन् । फेरि आफूलाई मनपरेको शब्द सुन्नेवित्तिकै फनक्क फर्केर हेर्छ । कुनै आवाज आउँदा कान थुन्ने, एकै किसिमको व्यवहार दो-याएर गर्ने, शरीर हल्लाउने पनि हुनसक्छ, सामान एक लाइन राख्ने वा घुमाइराख्ने पनि हुनसक्छ । कम्युनिकेसन, सोसलाइजेन्सन समस्या र दोहो¥याइरहने व्यवहार यी तीनवटै लक्षणहरू देखियो भने चाहिँ अटिजम हो भनेर शंका गर्नु अति जरुरी हुन्छ ।

अटिजम भएका बालबालिकामा देखिने व्यवहार

बोलाउँदा नहेर्ने

आँखा नजुधाउने

अरूले जे बोल्यो त्यही बोल्ने (सामान्य मानिसलाई जिस्क्याएको जस्तो लाग्ने)

उमेरअनुसारको भाषागत विकास नहुने

आवाजमा अत्यधिक प्रतिक्रिया जनाउने या वास्तै नगर्ने

डर या त्रासप्रति ख्याल नगर्ने

बालबालिकाले खेल्ने सामान्य सामानभन्दा अन्य कुराहरूमा अत्यधिक लगाव दिने

नियमित शिक्षण विधिबाट सिक्न गाह्रो हुने

आफ्नो उमेरका साथीसँग खेल्न मन नगर्ने या खेल्न नै इच्छा नदेखाउने

ठीक समयमा ठीक तरिकाले प्रतिक्रिया नदिने बच्चालाई इच्छा भएको एउटै कुरामा ध्यान दिएर एकोहोरो लागिरहने

अभिभावकले के गर्ने

जन्मनेबित्तिकै यस्तो समस्या भएका बालबालिकामा थाहा नभए तापनि अभिभावकले विशेष ख्याल गरेमा जन्मेको तीन वर्षको हुँदा प्रष्ट रूपमा थाहा पाउन सकिन्छ जति चाँडो बच्चाको अवस्था थाहा पाइयो त्यति नै उनीहरूको सञ्चार सहज बनाउन मद्दत हुन्छ ।

अटिजम भएका मानिस असहज व्यवहारका कारण सामाजिक रूपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरूलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यक हुन्छ । जति सानो उमेरमा यसको पहिचान गरियो उनीहरूलाई थेरापीद्वारा त्यति सहज तरिकाले सञ्चार प्रतिक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यसमा बच्चाले भन्दा पनि पहिले अभिभावकले पहिले थेरापी लिनुपर्छ । विद्यालय या अन्य स्थानमा गरिएको थेरापी केही समयका लागि भए पनि अभिभावकले नै उनीहरूको क्षमताका आधारमा थेरापी प्रशिक्षण लिई सिकाउनु राम्रो हुन्छ ।