स्तन क्यान्सर के हो? आफै कसरी पत्ता लगाउने?

खबर खुराक
२१ भदौ २०८०

 २१ भदौ, काठमाडौं । स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो। नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ। हामीकहाँ क्यान्सर सम्बन्धी वास्ताविक तथ्यांक थाहा नभए तापनि केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कअनुसार महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने स्तन क्यान्सर हो। स्तन क्यान्सर सरुवा रोग होइन। तर केही स्तन क्यान्सर वंशानुगत (१० प्रतिशत भन्दा कम) हुन सक्छ।

शरीरको अन्य कुनै अé जस्तै स्तन पनि खास कार्य गर्नलाई विभिन्न कोषहरुले बनेको हुन्छ। स्तन शरीरको बाहिरी भागमा रहेकोले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ। तर कुनै किसिमका कोषहरु अनावश्यक रुपमा बढ्दै गयो भने यी नयाँ कोषको समुहलाई स्तन ट्यमर अथवा गाँठो भनिन्छ। हुन त स्तनमा हुने सबै गाँठाहरु क्यान्सर हुँदैनन्। लगभग १० प्रतिशत गाँठाहरु मात्र क्यान्सर हुन्छन्।

तर स्तनमा कुनै किसिमका गाँठाहरु भेटियो भने चिकित्सकसँग परामर्स गरी यसको निवारण गर्नु उचित हुन्छ। सायद अज्ञानताको कारणले गर्दा होला, स्तनमा सानो गाँठो खासगरी नदुख्ने गाँठो (जसमा क्यान्सर हुने बढी सम्भावना हुन्छ) हो भने प्रायःजसो महिलाहरु चिकित्सककहाँ जाँदैनन्। जब क्यान्सरले गर्दा गाँठो ठुलो भई अप्ठ्यारो हुने, फुटेर घाउ हुने तथा क्यान्सर फैलिसकेपछिका लक्षणहरु देखा परेपछि मात्र स्वास्थ्य संस्थामा गएको देखिन्छ।

स्तन क्यान्सरको समस्या कस्तो छ?
हुन त क्यान्सरको समस्या विश्वमै बढ्दै गइरहेको पाइन्छ। केही वर्ष पहिलाको आम धारणा के थियो भने क्यान्सर भनेको विकसित देशहरुमा मात्रै हुने समस्या हो। तर वास्तवमा भन्ने हो भने क्यान्सरका बिरामी तथा यसबाट हुने मृत्यु विकसित देशभन्दा विकासोन्मुख देशमा बढी भएको पाइन्छ। विश्वको तथ्याङ्क हेर्ने हो भने लगभग ६० प्रतिशत क्यान्सर विकासोन्मुख देशमा हुने गरेको छ।

विकसित देशहरुमा भोजन, पानी तथा सरुवा रोगको समस्या छैन र प्रायः मानिसहरु धेरै वर्षसम्म बाँच्ने भएको हुनाले बुढेशकालमा क्यान्सर बढी हुने गरेको देखिन्छ। क्यान्सरलाई विकसित देशहरुमा जनस्वास्थ्यसँग सरोकार विषयका रुपमा लिइन्छ र स्वास्थ्य बजेटको महत्वपुर्ण भाग क्यान्सरको उपचार तथा यसको अनुसन्धानमा खर्च भएको देखिन्छ।

अहिलेको अवस्थामा नेपालमा कुनै पनि क्यान्सरको वास्तविक तथ्याङ्क दिन गा¥हो भए पनि विभिन्न केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कलाई हेर्ने हो भने लोग्ने मान्छेमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र स्वास्नी मान्छेमा पाठेघरको मुखको क्यान्सर पाइएको छ। महिलामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ।

अमेरीका तथा अन्य पश्चिमी मुलुकमा भने महिलामा हुने सबैभन्दा बढी क्यान्सर स्तन क्यान्सर हो। हाल आएर नेपालमा पनि स्तन क्यान्सरको संख्या बढ्दै गएको देखिन्छ। सायद केही वर्षमा स्तन क्यान्सर स्वास्नी मान्छेमा पहिलो नम्बरको क्यान्सर हुनसक्छ। हालसालै प्रकाशित एक रिर्पाेटअनुसार नेपालमा पाँच प्रमुख क्यान्सरमा फोक्सो, पाठेघरको मुख, स्तन, आमासय र घाँटीको क्यान्सर पर्दछ।

स्तन क्यान्सरको सम्भाव्य कारक तत्वहरु के–के हुन्?
स्तन क्यान्सरको सम्भाव्य कारक तत्वहरुलाई दुई भागमा बाँड्न सकिन्छ।
१. हाम्रो बस बाहिरका तत्वहरु जस्तै महिला, उमेर, जाति, महिनावारी, पारिवारिक तथा वंशानुगत गुण आदि।
क) स्तन क्यान्सर प्रायजसो महिलामा हुने गर्दछ। कहिलेकाहीं पुरुषमा पनि १ प्रतिशत स्तन क्यान्सर हुन्छ। हामीकहाँ स्तन क्यान्सर ३० वर्षदेखि ५० वर्षको उमेरका महिलामा सबैभन्दा बढी ६० प्रतिशतसम्म देखिन्छ। हुन त स्तन क्यान्सर जुनसुकै उमेरमा हुनसक्छ। त्रिवि शिक्षण अस्पताल, सर्जरी विभागको एक रिपोर्टअनुसार स्तन क्यान्सको औसत उमेर ३७ वर्ष हो। यो उमेर पश्चिमी मुलुकहरुको तुलनामा ज्यादै नै कम हो।

ख) महिनावारी चाँडो हुनु तथा ढिलो बन्द हुनुले क्यान्सरको सम्भावना बढ्छ।

ग) पारिवारिकः आफ्नै आमा, दिदीबहिनी तथा छोरीलाई स्तन क्यान्सर हुनु पनि स्तन क्यान्सरको सम्भावना कारक तत्व मानिन्छ। हाम्रो अध्ययन प्रतिवेदनअनुसार २ प्रतिशत बिरामीमा पारिवारिक सम्बन्धका कारणबाट क्यान्सर भएको पाइन्छ।

२. हाम्रो बसमा हुने तत्वहरु जस्तै खानेकुरा, शारीरिक व्यायम तथा वानीव्यहोरा आदि।
क) दैनिक व्यायाम नगर्ने मोटा महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ। खासगरी महिनावारी बन्द भइसकेपछि मोटा महिलामा भने स्तन क्यान्सरको सम्भावना बढेर जान्छ।

ख) खाद्य पदार्थः बोसो बढी भएको खाद्य पदार्थ तथा अत्यधिक रक्सी सेवन गर्ने महिलामा स्तन क्यान्सर हुने सम्भावना बढ्छ। हरियो सागपात तथा फलफुलको सेवनले यो सम्भावना घटेर जान्छ।

ग) ढिलो बच्चा पाउनु (४० वर्षभन्दा पछि) तथा बच्चा नपाउनु र स्तनपान नगराउनु आदि प्रजनन सम्वन्धि तत्वहरुले स्तन क्यान्सर हुने सम्भावना बढाउँछ। पाँच वर्षभन्दा बढी समयसम्म परिवार नियोजनका चक्कीहरु प्रयोग गर्नेलाई पनि केही सम्भावना बढेर जान्छ।

 स्तन क्यान्सरका लक्षणहरु केके हुन्?
स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन्। सामान्यतया दुख्न पनि दुख्दैन। विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ। हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन। जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन्। स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो। अन्य लक्षणहरुमा स्तनमा निको नहुने घाउ, दुधको मुन्टोवाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दुधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीं झरेर जानु आदि।

स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गर्न दुई महत्वपूर्ण उपाय छन्।

१) आफ्नो स्तन आफैं जाँच्ने
१८ वर्ष उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ। स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरूको अवस्थामा थाहा पाउनुपर्छ। केही परिवर्तन भेटिएमा तुरून्त चिकित्सकको परामर्श लिनुपर्छ।

२) म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने
स्तन क्यान्सरलाई सुरूको अवस्था पत्ता लगाउन महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो।

अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो, जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्छ।

म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यी जाँचमा स्तन क्यान्सरको शंका भए बायोप्सी गरेर स्तन क्यान्सर भए-नभएको निश्चित हुन्छ।

अन्त्यमा, वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवका आधारमा, जुन महिलाको दैनिक जीवनशैली स्वस्थ्य तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरूभन्दा न्युन हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौष्टिक खानासँगै स्वस्थ्य जीवन निर्वाह गर्नुपर्छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भए चिकित्सकको परामर्श लिनुपर्छ। उमेर पुगिसकेपछि चिकित्सकको सल्लाहबमोजिम प्रत्येक वर्षमा एकपटक म्यामोग्राफी गर्दा राम्रो हुन्छ।

स्तन क्यान्सरको उपचार कसरी गरिन्छ?
स्तन क्यान्सरको निदानको लागि तिन किसिमका जाँचहरु जस्तै चिकित्सकद्वारा जाँच, भिडियो एक्सरे अथवा स्तनको विशेष एक्सरे तथा स्तनको ट्युमरबाट निकालिएको कोष तथा तन्तुको जाँच गर्नु पर्दछ। प्रायजसो बिरामीमा यी तीनवटा जाँचबाट क्यान्सरको निदान हुन्छ। निदानपछि स्तन क्यान्सरको अवस्था पत्ता लगाउनु पर्दछ। स्तन क्यान्सरको अवस्था ट्युमरको नाप र कहाँसम्म फैलिएको, ग्रन्थीहरुमा सरेको छ कि छैन, तथा अन्य अंगहरुमा सरेको छ कि छैन भनेर जाँच गर्नु पर्दछ।

स्तन क्यान्सरका उपचार विधिहरु यस रोगको अवस्थामा भर पर्दछ। एकदमै सुरुको अवस्थामा छ भने शल्यक्रिया गरी निकालिदिए पुग्छ। केमोथेरापी र रेडियोथेरापी गरिराख्नु पर्दैन। ट्युमरको हर्माेन रिसेपटर हेरेर हर्माेन थेरापी पनि गर्नु पर्दछ। अवस्था हेरी एउटै बिरामीमा सवै किसिमका उपचार विधिहरु समेत प्रयोग गर्नुपर्ने हुन्छ। नेपालमै सबै उपचार विधिहरु उपलब्ध छन्।
केके कुरामा ध्यान दिनुपर्छ? 
१. सम्भावित कारक तत्वहरुलाई हटाउने, कम गर्ने वा सतर्क हुने।
२. प्रत्येक २० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको जाँच आफैंले नियमित रुपमा गर्ने। महिनावारी भएको सातौं दिनमा आफुलाई पायक पर्ने समय र ठाउँमा एउटा ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफंैले गर्ने। स्तनमा कुनै किसिमको असामान्य कुरा फेला पर्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्र्पक गर्ने।
३. सभाव्य लक्षणहरु देखापर्नेबित्तिकै निदान तथा उपचार गर्नसक्ने केन्द्रहरुमा जाने।
४. हरियो सागपात, फलफुलको सेवन गर्ने तथा नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।

हाम्रो देशभित्रै स्तन क्यान्सरको सम्पुर्ण उपचार विधिहरु उपलब्ध भएकोले डरलाग्दो रोग भए पनि उपचार गरी निको पार्न सकिन्छ। स्तनमा साविकभन्दा केही परिवर्तन वा गाँठागुठीहरु आउनेबित्तिकै चिकित्सकको सल्लाहअनुसार स्तन क्यान्सरलाई निको पार्न, अन्य अंगहरुमा सर्नबाट रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।