अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’को टिजर सार्वजनिक

खबर खुराक
२३ भदौ २०८० १६:५२

काठमाडौं । अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहने फिल्म ‘फर्की फर्की’को औपचारिक घोषणा भएको छ । निर्माताले शुक्रबार टिजर भिडियो सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।

एक मिनेट १६ सेकेण्ड लामो टिजरमा अनमोललाई मात्र समावेश गरिएको छ । टिजरमा अनमोलको पात्र भन्छ, ‘मसँग जे भइरा’छ, म आफैंलाई थाहा छैन किन र कसरी ? स्वीकार्न मलाई जति कठिन, बुझाउन त्यो भन्दा पनि गाह्रो । सबैलाई लाग्न सक्छ, यो मेरो सपना हो या भ्रम । तर वास्तवमा के हो, मलाई भन्दा कसलाई के थाहा ? अब यो वरदान हो कि श्राप ? त्यो त समयले नै बताउला । तर जेसुकै होस्, दिस इज अमेजिङ ।

अनमोलको पात्र एउटा कोठामा धुम्रपान र मदिरा सेवन गर्दै आफैंसँग वार्तालाप गर्दैछ । उसको संवाद सुन्दा लाग्छ, उक्त पात्रले एउटा कठिन परिस्थितिको सामना गरिरहेको छ । र, ऊ चुनौती स्वीकार्न तयार छ ।

सुयोग गुरुङको निर्देशन रहने यो फिल्मलाई रोहित अधिकारी फिल्म्स र ओएसआर डिजिटलले मिलेर निर्माण गर्दैछन् । अभिनेता केसीले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै दर्शकले यसअघि नदेखेको रोमान्स, मनोरञ्जन र ड्रामा हेर्न पाउने उल्लेख गरेका छन् ।

फिल्म सन् २०२४ मा रिलिज हुने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *