क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज

क्यानडामाथि नेपालको रोमाञ्चक जित

कप्तान रोहित चम्किँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

खबर खुराक
२५ माघ २०८० १६:४८

२५ माघ,काठमाडौं । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्ककमा रन जोड्न सकेनन् ।

क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिनुभयो । ललित राजवंशीले दुई विकेट लिनुभयो । सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफ एक एक विकेट लिनुभयो ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाउनुभयो । यस खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यु गर्नुभएको छ ।

बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिनुभयो । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिनुभयो । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।

क्यानडाविरुद्ध नेपाल–११

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल ।



प्रतिक्रिया