१ सय ३७ रनमा समेटियो नेदरल्यान्ड्स नेपालको शानदार प्रदर्शन

खबर खुराक
५ फागुन २०८० १२:१९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए ।

नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाए ।

छैटौँ ओभरमा म्याक्स ओ’डाओड १० रन बनाएर रन आउट भए । साइब्रान्ड र बास डे लिडेले पाली सम्हाल्ने प्रयास गर्दै गर्दा १६ औँ ओभरमा साइब्रान्ड ललित राजवंशीको शिकार बने । लगतै लिडेलाई पनि उनले आफ्नो दोस्रो शिकार बनाए ।

२६ औँ ओभरमा नोआ क्रोएस १२ रन बनाएर रनआउट हुन पुगे । लगत्तै शून्य रन बनाएका वेस्ले बरेसी भुर्तेल बलमा आउट भए । शरिज अहमद पनि लामो समय टिक्न सकेनन् । उनी कप्तान रोहित पौडेलको बलमा १ रन बनाएर आउट भए ।

आठौँ विकेटका रुपमा आर्यन दत्त १ सय २२ को स्कोरमा आउट भए । लगत्तै कप्तान एडवर्ड पनि ३३ रन बनाएर भुर्तेलको शिकार बने । भिभियन किंग्मालाई भुर्तेलले आफ्नो चौथो शिकार बनाए ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।



प्रतिक्रिया