साओमी १४ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ

खबर खुराक
२० चैत २०८० १४:४६

२० चैत, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो​ फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टम भएको साओमी १४ उपलब्ध गराएकाे हो ।

यो फोन १२ जीबी र्‍याम र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा खरिद गर्न सकिने छ । कम्पनीले नेपाली बजारमा यस भेरियन्टको मूल्य ९९ हजार ९९९ रुपैयाँ ।

कम्पनीका अनुसार ग्राहकले यो फोन ब्ल्याक, ह्वाइट र जेड ग्रिन कलरमा खरिद गर्न सक्नेछन् । यससँगै कम्पनीले साओमी ‘प्रायोरिटी क्लब’ पनि घोषणा गरेको छ ।

विशेषगरी साओमी १४ प्रयोगकर्ताका लागि यो परियोजना ल्याएको कम्पनीले जनाएको छ । साओमी प्रायोरिटी क्लबका सदस्यले छ महिना अतिरिक्त वारेन्टी पाउनेछन् भने एक पटक निःशुल्क स्क्रिन रिप्लेस गर्न पाउनेछन् । तर, त्यसका लागि फोन खरिद गरेको छ महिनासम्म मात्र ग्राहकले यो सेवा पाउनेछन् । त्यस्तै फोन खरिद गरेको २४ महिनासम्म ग्राहकले फोन निःशुल्क मर्मत गराउन पाउनेछन् ।

कस्तो छ साओमी १४ ? 

१२० हर्ज रिफ्रेस रेट भएको साओमी १४ मा ६.३६ इन्च एलटीपीओ ओलेड डिस्प्ले रहेको छ । यसको पिक ब्राइटनेस ३००० निट्स छ भने डब्ली भिजनसहित एचडीआर १० प्लसको डिस्प्ले राखिएको छ ।

यसमा २०ः९ रेसियोको १२००*२६७० पिक्सेल रेजोलुसन रहेको छ । कम्पनीले डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस दिएको छ । एन्ड्रोइड १४ अपरेटिङ सिस्टम भएको यो फोनमा कम्पनीले हालै सार्वजनिक भएको हाइपर ओएस उपलब्ध गराएको छ ।

यसमा क्वाल्कमको एमएम ८६५० एबी स्नापड्रागन ८ जेन थ्री चिपसेट राखिएको छ । कम्पनीका अनुसार यसमा ५० मेगापिक्सलेको ओआईएस वाइड क्यामेरा सेन्सर, ५० मेगापिक्सलको ओआईएस टेलिफोटो सेन्सर र ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा सेन्सर दिएको छ । यी तीन ओटै क्यामेरा लाइका क्यामेरा प्रविधिका आधारित छन् । यो प्रविधिलाई स्मार्टफोन फोटोग्राफीका क्षेत्रमा क्रान्तिकारी प्रविधिका रूपमा हेरिएको छ ।

यस फोनमा डुअल एलईडी टोन फ्ल्याश समावेश गरिएको छ । यसको सहायताले २४ एफपीएसको एट के, ३०/६० एफपीएसको फोर के भिडिओ, ३०/६०/१२० एफपीएसको १०८० पिक्सेल भिडिओ र १९२० एफपीएसमा ७२० पिक्सेल भिडिओ खिच्न सकिन्छ ।

सेल्फीका लागि यसमा ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । उक्त क्यामेराबाट ३०/६० एफपीएसमा फोर के तथा १०८० पिक्सेलको भिडिओ खिच्न सकिने कम्पनीले जनाएको छ ।

स्टेरियो स्पिकर रहेको यो फोनमा स्न्यापड्रागन साउन्ड टेक्नोलोजी राखिएको छ । अन्डरडिस्प्ले फिङ्गप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर, प्रोक्सिमिटी, गापरो, कम्पास ब्यारोमिटर र कलर स्पेक्ट्रम जस्ता सेन्सर यो फोनमा पाउन सकिन्छ ।

नेटवर्कका सन्दर्भमा फोनले दुई ओटा सिम सपोर्ट गर्छ भने यसमा एउटा भौतिक सिम र अर्को ईसिम पनि प्रयोग गर्न सकिन्छ । यसले फाइभजी पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । पानी र धुलोका सन्दर्भमा यसले आईपी ६८ रेटिङ पाएको छ ।

यसमा ४६१० एमएएच क्षमताको ब्याट्री दिइएको छ भने त्यसलाई चार्ज गर्न ९० वाटको वायर्ड चार्जर दिइएको छ । कम्पनीका अनुसार उक्त चार्जरले फोनलाई ३१ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । ५० वाटको वायरलेस चार्जबाट फोनलाई ४६ मिनेटमा फुल चार्ज गर्न सकिने दाबी कम्पनीले गरेको छ । त्यस्तै यसले १० वाटको रिभर्स वायरलेस चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।



प्रतिक्रिया