पठाओले देशका थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने

खबर खुराक
२१ चैत २०८० १२:४६

२१ चैत, काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओले देशका थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै पठाओले देशका विभिन्न शहरमा सेवा विस्तार गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित रहेकाे पठाओको सेवा देशभर विस्तार गर्ने नीतिअनुरुप क्रमशः अन्य सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

बस्न्यातका अनुसार पठाओ अब कोशी प्रदेशका नौ शहर बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड र  भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध हुने उनले सुनाए ।

त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार हुने भएको छ । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना रहेको उनले सुनाए ।

“नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागेका छौं,” बस्न्यातले भने ।

उनका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

“राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्युरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नुहुनेछ । कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ,” बस्न्यातले भने, “इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१-५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।” राइडर बन्नेले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

पठाओले राइडसँगै पठाओ फुड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।



प्रतिक्रिया