आफ्नो ह्वाट्सएप नम्बर कसरी परिवर्तन गर्ने

खबर खुराक
६ जेठ २०८१

६ जेठ, काठमाडौं । विविध कारणले तपाईंले आफ्नो फोन नम्बर परिवर्तन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पुरानो नम्बरमा भएको ह्वाट्सएप च्याट के गर्ने भन्ने द्विविधा हुन्छ । हुन त एउटै ह्वाट्सएप एपमा दुई ओटासम्म अकाउन्ट साइनइन गर्न सकिन्छ । तर, हरेक पटक अकाउन्ट स्वीच गर्ने काम तपाईंका लागि झन्झटिलो हुन सक्छ ।

आज हामी पुरानो ह्वाट्सएप अकाउन्टमा भएको च्याट नयाँ अकाउन्टमा कसरी ट्रान्सफर गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं ।

तपाईंको ह्वाट्सएप नम्बर कसरी थाहा पाउने ?

एउटा नम्बरमा भएको च्याट अर्को नम्बरमा ट्रान्सफर गर्नुअगाडि च्याट भएको मुख्य नम्बर कुन हो भन्ने पहिचान गर्नुपर्ने हुन्छ । त्यसका लागि तलको तरिका अपनाउनुहोस्:

  • सबैभन्दा पहिले आफ्नो फोनमा ह्वाट्सएप खोल्नुहोस् ।

  • अनि, माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् र सेटिङमा जानुहोस् ।

  • यति गरिसकेपछि आफ्नो नाममा ट्याप गर्नुहोस् । र, त्यसको अन्तिममा तपाईंको नम्बर देखिन्छ ।

ह्वाट्सएप नम्बर कसरी परिवर्तन गर्ने ? 

  • सबैभन्दा पहिले उक्त फोनमा नयाँ नम्बरको सिम राख्नुहोस्, अनि ह्वाट्सएप खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गरेर सेटिङमा जानुहोस् ।

  • यति गरेपछि ‘अकाउन्ट’को अप्सन छान्नुहोस् ।

  • र, त्यहाँ देखिएको ‘चेन्ज नम्बर’ (Change number) को अप्सन छान्नुहोस् ।

  • अनि, तलपट्टि भएको ‘नेक्स्ट’ (Next) बटनमा ट्याप गर्नुहोस् ।

  • यति गरेपछि माथि पुरानो नम्बर राख्नुहोस् र तलपट्टि नयाँ नम्बर राखेर ‘नेक्स्ट’को बटनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि तपाईंले आफ्नो कन्ट्याक्टमा भएका व्यक्तिलाई नयाँ नम्बरबारे जानकारी दिन चाहनुहुन्छ कि हुँदैन, त्यो अप्सन छान्नुपर्ने हुन्छ । यति गरेपछि ‘डन’ (Done) बटनमा ट्याप गर्नुहोस् ।

  • अनि आफ्नो एसएमएसमा आएको कोड राखेर नम्बर भेरिफाई​ गर्नुहोस् ।

तपाईंले ह्वाट्सएप नम्बर परिवर्तन गर्नुभयो भने के हुन्छ ?

तपाईंले पुरानो नम्बरलाई परिवर्तन गरेर नयाँ नम्बर राख्नुभयो भने यसबाट तपाईंको अकाउन्टमा भएका मेसेज, ग्रुप वा मिडियालाई कुनै असर गर्दैन । तपाईंले नम्बर परिवर्तन गरे पनि ह्वाट्सएपले अकाउन्ट इन्फरमेसन, सेटिङ सबै सुरक्षित राखिदिन्छ ।

यतिसम्म कि तपाईंले पुरानो नम्बरमा ह्वाटएसप अकाउन्टबाट कुनै नम्बर ब्लक गर्नु भएको छ भने नयाँ नम्बरमा पनि त्यो ब्लक हुन्छ ।

तपाईंले ह्वाट्सएप नम्बर परिवर्तन गरिसकेपछि पुरानो नम्बरको अकाउन्ट डिलिट हुन्छ । त्यसको परिणाम जोसँग तपाईंको पुरानो ह्वाट्सएप नम्बर छ, उनीहरूले तपाईंको नम्बर ह्वाट्सएपमा फेला पार्न सक्दैनन् । तपाईं जोडिएको ग्रुपमा नम्बर परिवर्तन भएको नोटिफिकेसन जान्छ ।

च्याट र अन्य जानकारी नहराउने गरी त्यही नयाँ नम्बर अर्को फोन वा कम्प्युटरमा लिङ्क गर्न पनि सकिन्छ ।