नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

खबर खुराक
२३ जेठ २०८१

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गर्नुभएको छ । यससँगै राजीनामासँगै सन्  २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनका लागि मार्ग प्रशस्त गर्नेछ ।

राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्रिपरिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिनुभएको छ ।

राजधानी दिल्लीमा बुधबार बसेको भारतको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेस गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात् प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू)को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

बुधबार अपराह्न हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा  राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।

लोकसभा चुनावको नतिजाअनुसार भारतीय निर्वाचन आयोगले ५४३ लोकसभा निर्वाचन क्षेत्रमध्ये ५४२ को परिणाम घोषणा गरेको छ, जसमा भाजपाले २४० तथा काङ्ग्रेसले ९९ सिट जितेको छ ।

भाजपाले सन् २०१४ को लोक सभा निर्वाचनमा २८२ सिट र सन् २०१९ मा ३०३ सिटमा विजय भएको भाजपाले यो वर्षको निर्वाचनमा तुलनात्मकरूपमा केही कम सिट ल्याएको हो ।

अर्कोतर्फ, काङ्ग्रेसले सन् २०१९ मा ५२ र सन् २०२४ मा ४४ सिटको तुलनामा ९९ सिट ल्याई संसदमा प्रतिपक्षीको उपस्थितिलाई बलियो बनाएको छ । कडा प्रतिस्पर्धाबिच भएको निर्वाचनमा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) समूहले २३० भन्दा बढी सिट ल्याउन सफल भएको छ । रासस