अन्तराष्ट्रिय

२०२४ को मे महिनामै यूएईमा ३२ जना नेपालीको मृत्यु

मृत्यु हुनेमा ठूलो संख्या आत्महत्यासँग जोडिएको छ । 

खबर खुराक
१४ जेठ २०८१

१४ जेठ, काठमाडौं । मानव तस्करको प्रलोभवनमा परी भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीमा आत्महत्या गर्ने क्रम बढेको छ । मानव तस्करको प्रलोभनमा परी भिजिट भिसामा यूएई जाने नेपालीको संख्या बढेसँगै आत्महत्या गर्नेको संख्या बढेको हो । “केही महिनायता यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढेको छ,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले  भने, “आत्महत्या गर्ने धेरैजसोहरू भिजिट भिसामा आएको देखिन्छ ।”

यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८० वैशाख महिनामा मात्र यूएईमा ३२ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलो संख्या आत्महत्यासँग जोडिएको छ ।

“मानवतस्कर तथा एजेन्टहरूको  प्रलोभनमा परी भिजिट भिसामा आउने र यहाँ आएको लामो समयसम्म पनि सोचेअनुसार काम नपाएपछि उनीहरू निराश हुने गरेको पाइएको छ । जसले उनीहरूलाई आत्महत्यासम्म पुर्‍याउने गरेको छ,” उनले भने ।

मानवतस्करहरूले अमेरिका र युरोपेली राष्ट्रमा लगि आकर्षक रोजगारी लगाईदिने भन्दै ठूला संख्यामा नेपालीलाई भिजिट भिसामा यूएईको अबुधाबी र दुबई पुर्‍याउने गरेका छन् । मानव तस्करहरूले नेपालीलई युरोप र अमेरिका पुर्‍याउन यूएईलाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएका छन् । “३० प्रतिशत त युरोप तथा अमेरिका जान भनी यहाँ आएको पाइन्छ,” राजदूत क्षेत्रीले भने ।

आर्थिक वर्ष २०८०/८१ सुरु भएपछिको पहिलो १० महिनामा यूएईमा १६७ जनाको मृत्यु भइसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यूएईमा १६७ जनाको मृत्यु भएको थियो ।

अघिल्लो एक वर्षमा जति नेपालीको मृत्यु यूएईमा भएको थियो त्यति नै संख्यामा नेपालीको मृत्यु चालु आर्थिक वर्षको पहिलो १० महिनामा भइसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा १७४ जना नेपालीको मृत्यु यूएईमा भएको थियो ।

पछिल्लो १० महिनामा २०८० साउनमा १९, भदौमा १२, असोजमा १३, कात्तिकमा १८, मंसिरमा १३, पुसमा १३, माघमा १७, फागुनमा १३, चैतमा १७ र २०८१ वैशाखमा ३२ जना नेपालीको मृत्यु यूएईमा भएको छ ।

चालु आथिक वर्षको पहिलो १० महिनामा यूएईमा प्रत्येक महिना औसतमा १६ जनाभन्दा बढी नेपालीको मृत्यु भएको छ । यही गतिमा मृत्यु भइरहे चालु आर्थिक वर्षमा २०० जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा हुने देखिन्छ । रासस