बिचमै संसद विघटन हुँदा सोचेजति काम गर्न सकिनँ : ठाकुर गैरे

खबर खुराक
१४ माघ २०८२

मिलन विश्वकर्मा
पाल्पा, १४ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले पूर्णकार्यकाल काम गर्न नपाउँदा सोंचेजति विकास गर्न नसकेको बताउनुभएको छ ।

नेकपा एमाले तानसेन नगर कमिटीको बुधबार बसेको विस्तारित बैठकमा बोल्दै बिचमै प्रतिनिधि सभा विकटन हुँदा बनाएका योजनाहरू अगाडि बड्न नसकेको बताउनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू विजयी भएपछि अधुरा विकास निर्माणका कामलाई पूर्णता दिने उहाँले बताउनुभयो ।

आफूले संसदमा निर्वाचित भएर पूर्णकार्यकाल काम गर्न नपाएको उहाँले बताउनुभयो । ‘तपाईंले जितेर के गर्नुभयो भन्ने प्रश्न म माथि छ ? तपाईंले फोन उठाउनु भएन् । मैले भनेको काम गर्दिनु भएन भन्ने धेरैको व्यक्तिको गुनासो मप्रति छ ।’ उहाँले भन्नुभयो ‘मेरो कुनै प्रतिक्रिया छैन् । मेरा केही कमिकमजोरी रहे। आगामी निर्वाचनमा निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता गर्दछु।’ पाल्पाली जनताले जिताएर पठाएपछि आफूले कुनै प्रकारको घात नगरेको उहाँले बताउनुभयो । संसद बनेको समयमा पाल्पाको विकासमा आफूले धेरै पहल गरेको स्पष्ट पार्नुभयो । तय भएका योजनाहरू संसद विघटनसँगै अलपत्र परेको बताउनुभयो ।
आफूले जीत हाँसिल गर्नेमा विश्वस्त रहेको बताउनुभयो । अन्य पार्टीका नेताले समेत एमालेले जित्ने बताइरहेको उहाँले दाबी गर्नुभयो ।
एक्लो प्रयासले जितिने होइन् । एमालेका नेता तथा कार्यकर्ता र आम पाल्पालीको अमूल्य मतले आफू विजयी हुने बताउनुभयो । पार्टी र जनताभन्दा म ठूलो होइन् । जनतालाई सर्वोपरि ठानेर राजनीति गरिरहने गैरेले बताउनुभयो । चुनाव हार्दा ठाकुर हार्ने होइन् । एमाले हार्ने छ । देश हार्ने छ । देशमा सत्यनास हुने गैरेले बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले केपी ओलीको साहसले सबै नेता बाहिर खुलेर हिंड्न पाएका बताउनुभएको छ । काँग्रेस, नेपाली कम्युनिष्ट पार्टीसहित सबै दलका नेता जेन्जी आन्दोलनपछि लुकेर बस्नुपरेको अवस्था थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको साहसले नै सबै नेतालाई बाहिर निस्केर राजनीति गर्ने वातावरण बनेको उहाँले बताउनुभयो । भदौ २३ र २४ गते भएको आन्दोलन पछि ओली खुलेर पार्टी राजनीतिलाई अगाडी बढाउनुभएको उहाँले बताउनुभयो । अहिले ओलीलाई भोट दिन काँग्रेससहित अन्य दलका नेता तथा कार्यकर्ताले चाहेको बताउनुभयो ।

एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले आगामी निर्वाचनलाई लक्षित गरे वडा तथा टोल कमिटीमा भेला तथा बैठक गर्ने भएको छ । एमालेका उम्मेदवार ठाकुर गैरेलाई अत्यधिक मतले विजयी गराउने गरी प्रचारप्रसारमा जुट्न अनुरोध गर्नुभयो ।