सुकुम्बासी बस्तिमा डोजर : चुपचाप बामपंथी दलहरू !

खबर खुराक
२४ वैशाख २०८३

विशाल दर्लामी

नेपालमा सुकुम्बासी समस्या लामो समय देखि बल्झिएको समस्या हो । भुमिहिन दलित,सुकुम्बासी समस्या समाधान गर्न भनेरै अहिलेसम्म १९ वटा आयोग बने तर समस्या जहाँको तहिँ छ । त्यति मात्रै होइन, २०४६ पछि कैयौं पटक कम्युनिस्टहरूको समेत सरकार देशले पायो ।

यहाँ कम्युनिस्ट पार्टीको प्रसङ्ग ल्याउनु तात्पर्य, कम्युनिस्टहरुले भन्दै आएको कुरा के हो भने, मजदुर, किसान जो श्रमजीवी वर्ग हुन तिनिहरूनै कम्युनिस्ट पार्टीका आधारभूत वर्ग हुन् । यो कुरा सबै कम्युनिस्ट नामधारी पार्टीका घोषणापत्र, प्रशिक्षण आदिमा भन्दै लेख्दै, बुझाउँदै आएको कुरा हो ।

१९ वटा आयोग बन्दा समेत नेपालमा भूमिहिन दलित र सुकुम्बासी समस्याको समाधान किन हुन सकेन ? पटकपटक कम्युनिस्टहरुले सत्ताको बागडोर लिंदा पनि किन यो समस्या समाधान हुन सकेन ? यो नै अहिलेको अहम प्रश्न हो । त्यति मात्रै होइन सुकुम्बासी बस्तिमा रातारात डोजर चलाएर दशौ हजार जनतालाइ उठिबास लाउदा समेत किन कम्युनिस्ट पार्टी र तिनका नेताहरु चुपचाप छन् । मौन छन् ? यो झनै आश्चर्यजनक बनेको छ।

सायद तिनिहरूमा नैतिक संकट उत्पन्न भएको छ ।आफू (कम्युनिस्ट नामधारी) पटकपटक सरकारमा जाने ।घोषणापत्रमा, अन्य कार्यक्रमहरूमा तिनै भूमिहिन दलित, सुकुम्बासी, मजदुर किसानलाई आफ्नो आधारभूत वर्ग मान्ने । तिनैको भोटले सत्तामा पुग्ने, अनि बिर्सने । यस्तो घृणित कार्यले नै आज कम्युनिस्ट नामधारी पार्टीहरू सरकारको यो किसिमको बर्बरता सामु मुक दर्शक छन् ।

यसो हुनुको पछाडि नेपालका कम्युनिस्ट पार्टीहरू आफैले भनेका आधारभूत वर्गसँग सामीप्यमा छैनन् । तिनीहरूले आफ्नो वर्ग आधार छोडे वा उनीहरूसँगको दुरी धेरैनै टाढा भइसक्यो । यो नै नेपालको कम्युनिस्ट आन्दोलनमा स्थापित भएको स्खलित मानक हो । जुन कुरा निकै विडम्बनायुक्त बनेको छ ।
वर्तमान सरकार, राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरूको आधारभूत वर्ग मजदुर किसान होइनन् । त्यसकारण स्वभाविक रुपमा तिनका आँखामा सुकुम्बासीहरू नराम्रा, फोहोरी र कुरूप देखिन्छन । वर्तमान सरकार र तिनका नेताहरू पुराकापुर पुँजीवादी चिन्तन, त्यही प्रकारको बिचार र सिद्धान्तबाट गाइडेड छन् । पुँजीवादी विशेषता नै यहि हो । पुँजीवादले सम्भ्रान्त वर्गको पक्षमा काम गर्छ ।मानवता, उदार, सहभावभन्दा पनि अहमता लाई जोड दिन्छ ।

झिलिमिली शहर, चिल्ला सडक अनि करोडौका गाडीहरू गुड्ने ठाउँमा कहिँ कतै काँधमा बोरा बोकेका धुमिल मान्छेहरू कुरुप लाग्छ । त्यसैले तिनिहरूले ती कथित कुरुपता माथि डोजर चलाउँछन । तिनिहरू कहिल्यै सोच्दैनन कि,आफ्नै देशमा मान्छेहरु कसरी ? किन ?सुकुम्बासी हुनेछन् । भुमुहिन हुन्छन् । तिनिहरू मात्र देख्छन् ती सुकुम्बासी बस्तिले शहरलाई कुरुप बनाएको । तिनिहरू घुइकिने बाटोलाई साँघुरो बनाएको । यहि हो पुँजीवाद र त्यसको विशेषता । पुँजीवादको जगमा जन्मिएर, पुँजीवादको कस्मेटिक दुनियाँमा रमाएकाहरूले सुकुम्बासीलाई नदेख्नु, नचिन्नु स्वभाबिक छ । त्यसको प्रतिबिम्ब हो बालेन सरकार र उनका लागि रंगिन क्लब जस्तै हो डोजर आतंक । तर जो आफ्नो पार्टीको घोषणापत्रमा लेख्छ समाजवाद र साम्यवाद । सपना देख्छ र देखाउँछ समतामूलक समाज अनि शोषणरहित देशको र भन्छ आफूलाई कम्युनिस्ट, आज हजारौ हजार सुकुम्बासीहरुको उठिबास हुदा उ किन मौन छ ? किन चुपचाप छ ??