भन्सार छली ल्याइएको ८५ हजार रुपैयाँभन्दा बढीको कपडा पाल्पामा बरामद
पाल्पा, २ भदौ । पाल्पा प्रहरीले भन्सार छली ल्याइएको ८५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, पैठे डाँडामा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डको टोलीले भन्सार छली ल्याइएको कपडा बरामद गरेको हो ।
प्रहरीले रुपन्देहीको बुटवलबाट बागलुङको बेनीतर्फ जाँदै गरेको लु २ ख ६९७६ नम्बरको हाईस गाडी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएको कपडा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
बरामद सामग्रीको अनुमानित मूल्य रू. ८५ हजार ४५० रहेको उहाँले बताउनुभयो । बरामद कपडामा कुर्ती १०९ थान र साडी ५१ थान रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देही पठाइएको प्रनाउ भट्टराईले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस