२० अर्ब नवीकरण शुल्क ब्याजसहित चार किस्ताबन्दीमा तिर्ने सर्तमा एनसेलको लाइसेन्स नवीकरण हुने
पहिलो किस्ता तिरेपछि नवीकरण हुने
१४ भदौ, काठमाडौं । सरकारले एनसेलको मोबाइल लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क ब्याजसहित चार किस्तामा तिर्ने सुविधा दिन सहमति जनाएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चार किस्तामध्ये पहिलोको ब्याज नलिने, दोस्रो, तेस्रो र चौथोको १० प्रतिशत ब्याजसहित लिने निर्णय भएकाे जानकारी दिए ।
यही १५ भदौमा एनसेलको जीएसएम मोबाइल लाइसेन्सलाई २० वर्ष पूरा हुँदैछ । त्यस अगावै कम्पनीले अर्को पाँच वर्षका लागि नवीकरण गराउनु पर्ने हुन्छ । कम्पनीले गत १४ जेठ २०८१ मा २० अर्बमध्ये चार अर्ब रुपैयाँ मात्रै बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्नेगरी लाइसेन्स नवीकरण गरिदिन अनुरोध गर्दै आएको थियो । सोही बमोजिम सरकारले एनसेललाई चार किस्तामा नवीकरण दस्तुर तिर्ने सुविधा दिएको हो ।
सरकारको यस कदमले एनसेललाई नवीकरण शुल्कको रकम जुटाउन थप समय मिलेपनि ब्याजसहित किस्ता तिर्नुपर्ने निर्णयलाई एनसेलले अस्वाभाविक मानेको छ ।



प्रतिक्रिया दिनुहोस