गुगलसँग गुनासो छ (कविता)

खबर खुराक
११ पुष २०८१


सुनेको थिएँ
यो गुगलको दुनियाँ हो यसले
सबैसबै देखाइदिन्छ
चिनाइदिन्छ रे
खोजिदिन्छ रे
जे चाह्यो त्यही
पुर्‍याइदिन्छ रे
पुग्न खोजेको ठाउँमा

त्यसैले खोजें
सर्च गरेर ।
भरिया
हिमाल चड्दै गरेका
थरिथरी चित्र देखायो
निहालेर हेरेँ
छन त थिए धेरै भारी बोकेका दाजुभाइहरु र बाहरु
तर
त्यहाँ मेरा बा थिएनन्‌
यो गुगल पनि डलरेको मात्रै
फोटो छाप्दोरहेछ कि के हो ?

नत्र खै !
मेरा बाको चित्र ?
बा हिमाल चढेनन्
बाले कख पढेनन् भन्दैमा
बा के भरियामा गनिएनन् ?
उनले पढेनन् त के भयो ?
आजीवन भारी बोकेर
खकन र टोक्मा टेकेर
हातमुख जोरेनन् ?

त्यही भारीको भरमा
छोरालाई अंग्रेजी बोल्न सक्ने बनाएनन् ?
छोरीलाई परिवारले गन्न सक्ने बनाएनन् ?

बनिनु बनाउनु
गनिनु गनिने बनाउनु
यिनै हैनन् कर्तव्य उनका ?

आफू जे भए पनि
अरुलाई आफूभन्दा अब्बल बनाउनु ? कर्तव्य सम्झेनन् ?

के ती भरियामा गनिएनन् ?
दाइ !
मलाई गुगलसँग गुनासो छ।