जीवन केहो ? यसलाई दीर्घकाल कसरी जिवित बनाउने ?

खबर खुराक
२९ असार २०८३

डा. रामबहादुर राउत

जीवन के हो ? भन्ने प्रश्न अहम् प्रश्न हो । मानिसले जीवनलाइ सामान्य अर्थ लाँउदा जिउने भन्ने अर्थमा बुझ्दछन । जीवन केवल जिउनु मात्रै होइन यसलाइ सार्थक तवरबाट व्यतित गर्ने कुरा हो ।

कतिपय बिद्वानहरु भन्ने गर्दछन जन्मनुलाइ अंग्रजीमा Birth भने झै मर्नुलाइ Death भनिन्छ । जिउनु र मर्नु बिचको अन्तराल नै जीवन हो । यानी कि Birth B र Death D को बिचमा एउटा अक्षर छ त्यसलाइ हामीले C भनेर भन्दछौ । अर्थात C को अर्थ हुन्छ Creation । अर्थात जीवनको अर्थ हुन्छ Creation अर्थात सृजना ।

मानिस बिशिष्ट प्राणी हो । जसले बिशिष्ट रचना गर्दछन । जसका कारण मानव सदैव जिवित रहन चाहन्छ । जिवित रहन उसका कृतिहरू जिवित हुनुपर्दछ । अहिलेसम्म यो धर्तीमा खर्बौ मानिसले जन्म लिए होलान् । तर हालसम्म केही हजारको संख्यामा मात्र मानिस जिवित छन् । यसको मतलब केहि हजार  मानिसले मात्र कृतिको सृजना गरेर जानु भो जसका कारण वहाँहरूको जीवन हालपनि जिवितै छ । वहाँहरूको जीवन भनेको वहाँहरूको सृजनाले निर्माण गरेको छ ।

जीवन केवल बाँच्नु मात्र होइन, राम्रोसँग बाँच्नु हो । जीवनमा आउने सफलता र असफलता, खुसी र दुःख, आशा र निराशाले मानिसलाई परिपक्व बनाउँछ । कठिनाइहरू जीवनका शिक्षक हुन । त्यसबाट सिकेर अगाडि बढ्ने व्यक्ति नै सफल बन्न सक्छ ।

प्रत्येक व्यक्तिले आफ्नो जीवनको स्पष्ट उद्देश्य निर्धारण गर्नुपर्छ ।शिक्षा हासिल गर्नु, सीप विकास गर्नु, परिवार र समाजप्रति आफ्नो दायित्व पूरा गर्नु तथा वातावरण संरक्षण, मानव सेवा र राष्ट्र निर्माणमा योगदान दिनु जीवनका महत्वपूर्ण उद्देश्य हुन सक्छन् ।

 उद्देश्य बिना जीवन दिशाहीन हुन्छ भने सही उद्देश्यले जीवनलाई अर्थ र प्रेरणा दिन्छ । त्यसका लागि मानवले केही न केही सृजना गर्नुपर्दछ । त्यो सृजना गर्ने संकल्प नै जीवनको लक्ष्य हो ।

मानव सृजनशिल कसरी बन्दछ ?

उसको सृजनाले दीर्घकालसम्म बहुमत मानिसको हित कसरी गर्दछ  ?  यो हामी हरेक मानवले बुझ्ने कुरा हो । हुनत प्रशंसनीय दृष्टिकोणको मान्यताले भन्दछ हरेक मानिस सृजनशिल हुन्छ र उसले आफुले गरेको सृजनालाई अरूको सेवामा लगाउन चाहन्छ । तसर्थ हरेक मानिसले गरेको सृजनाको खोजी नै प्रशंसनीय दृष्टिकोण हो भनेर चर्चा गरिएको छ ।

साथै सृजनाले बहुमत मानिसलाई के कस्तो सकारात्मक प्रभाव परेको छ भनेर खोजी गर्नु नै प्रशंसनीय दृष्टिकोण हो । तसर्थ मानिस हरेकले केहि न केहि सृजना गर्दछ । भन्ने मान्यता रहेको छ ।

यसलाइ शुक्र नीतिले यसरी चर्चा गरेको रहेछ : अमन्त्रमं अक्षरं नास्ती, नास्तीमुलोमनौषधम, अयोग्य पुरुषो नास्ती, योजकस्तत्रदुर्लभः। यसको अर्थ हरेक अक्षर मन्त्र हुन । हरेक बिरुवाका जराहरु औषधी हुन । हरेक मानिस योग्य तथा सृजनशिल छन ।

तर कुन अक्षरमा के मन्त्र छ  ? कुन विरूवामा के औषधि छ ?  कुन मानिसमा के योग्यता छ ? त्यसको संयोजन गर्ने बिषय अप्ठयारो बिषय हो ।

यसको अर्थ हुन्छ मानिस सृजनशिल बन्न र उसको सृजनाले बहुमत मानिसलाइ सेवा पुराउनको लागि उपयुक्त सोच, उपयुक्त बिचार तथा उपयुक्तकर्म तथा त्यसले निर्माण गर्ने वातावरणमा निर्भर रहन्छ । किनभने जस्तो सोच त्यस्तै बिचार, जस्तो बिचार त्यस्तै काम, जस्तो काम त्यस्तै परिणाम, जस्तो परिणाम त्यस्तै प्रभाव, र जस्तो प्रभाव त्यस्तै परिवर्तन ।

मानिसलाइ सृजनशिल बनाउन उसको सोच सृजनशिल हुन आवस्यक छ भन्ने कुरा माथील्लो परिवर्तनको चक्रले बुझाउछ । सृजनशिल सोच भनेको सकारात्मक सोच हो  । सकारात्मक सोचले हरेक पटक प्रश्न गरिरहन्छ के राम्रो छ ? कसरी राम्रो बन्दछ ? कसरी यो कार्य सम्पादनगर्न सकिन्छ ? के नविन कार्य गर्न सकियला?यसो गर्दा कसो होला ? जस्ता प्रश्न गरिरहन्छ । जसका कारण नविन सृजनाको जन्म हुन्छ । यसरी गरिएको सृजनाले बहुमत मानिसलाइ सकारात्मक प्रभाव पार्दछ । जीवनमा सकारात्मक सोच, इमानदारी, मेहनत, अनुशासन र धैर्य अत्यन्त आवश्यक हुन्छ। अरूको सम्मान गर्ने, समाजप्रति जिम्मेवार बन्ने र मानवताको भावना राख्ने व्यक्तिको जीवन अझ अर्थपूर्ण हुन्छ। धन, पद वा प्रतिष्ठा मात्र जीवनको सफलता होइन असल चरित्र, सन्तुष्टि र समाजका लागि गरेको योगदान पनि सफल जीवनका महत्वपूर्ण आधार हुन्।

जीवनलाइ जिवितै तुल्याइरहने सोच भनेकै सकारात्मक सोच हो । सकारात्मक सोचले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरमयाः सर्वे भद्राणिपश्यन्तु माकश्चित् दुखभाग् भवे । त्यसको अर्थ सबैलाइ कसरी सुखी बनाउन सकिन्छ ? कसरी स्वस्थ राख्न सकिन्छ ? कसरी राम्रो सन्देश सुनाउन सकिन्छ ? कसरी सबैको दुख भगाउन सकिन्छ भनेर सोच्नु र सोहि अनुसारको सृजना गर्ने काम ल्याउन मद्दत गर्ने सोच नै सकारात्मक सोच हो ।

प्रशंसनीय दृष्टिकोणको दर्शन भन्दछ सकारात्मक सोच नै जीवन धान्ने उर्जा हो । अर्थात हरेकको जीवनलाइ हरेक कोणबाट दीर्घजीवी बनाउने कार्य सकारात्मक सोचले गर्दछ । जीवन केवल बाँच्नु मात्र होइन, राम्रोसँग बाँच्नु हो । जीवनमा आउने सफलता र असफलता, खुसी र दुःख, आशा र निराशाले मानिसलाई परिपक्व बनाउँछन । कठिनाइहरू जीवनका शिक्षक हुन । त्यसबाट सिकेर अगाडि बढ्ने व्यक्ति नै सफल बन्न सक्छ ।

कतिपय बिचारक भन्ने गर्नुहुन्छ सकारात्मक कर्मबाट सकारात्मक सोचको निर्माण हुन्छ । कतिपय बिचारकले भन्नुहुन्छ सकारात्मक सोचले नै सकारात्मककर्मको जन्मदिने हो । सकारात्मक सोचले सकरात्मक परिवर्तन सम्म पुराउनका लागि बिचार काम तथा त्यसको परिणामको सहारा लिनुपर्ने हुन्छ । जब तपाँइले समाजमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ तपाईका कर्महरु एकपछि अर्को गर्दै सकारात्मकतातिर लम्किन सुरु गर्दछन ।

जीवन प्रकृतिले मानवलाई दिएको सबैभन्दा अमूल्य उपहार हो । जन्मदेखि मृत्युसम्मको यात्रामात्र जीवन होइन, यस यात्रामा सिकाइ, संघर्ष, प्रेम, जिम्मेवारी, सेवा र आत्म विकासको समग्र प्रक्रिया नै जीवन हो । प्रत्येक व्यक्तिको जीवनको उद्देश्य र अनुभव फरक–फरक भएपनि सबैको चाहना सुख, शान्ति र अर्थपूर्ण जीवन बिताउने हुन्छ ।

अन्ततः, जीवन अवसर, चुनौती र सम्भावनाहरूको सुन्दर संगम हो। जीवनलाई सकारात्मक सोच, निरन्तर प्रयास, नैतिक आचरण र सेवाभावका साथ अघि बढाउन सके मात्र यसको वास्तविक मूल्य अनुभूति गर्न सकिन्छ ।

त्यसैले प्रत्येक दिनलाई नयाँ अवसरका रूपमा स्वीकार गर्दै आफूलाई सो मुताबिक अपडेट गर्दै जानु आवस्यक हुन्छ । अरूलाई सहयोग गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु नै जीवनको वास्तविक सार हो । समाजमा आज भक्तिएको सद्भाव जोडने एवं पुन शशक्त बनाएर लैजानु आजको सकारात्मक सामाजिक रुपान्तरणको मूलदायीत्व हो ।

धन्यवाद ।

लेखक नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय संजालका राष्ट्रिय अध्यक्ष हुन् ।