रामपुरको सिद्धबाबा धाम धार्मिक पर्यटकीय गन्तव्य बन्दै
सिर्जना घिमिरे
पाल्पा, २६ साउन । रामपुर नगरपालिकामा रहेकोे सिद्धबाबा धाममा धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
कुनै एक समय दूध चढाउने गुफाका रूपमा परिचित थियो । भुजातमा रहेको सिद्धबाबा धाममा विशेषगरी भगवान शिवको पूजाआरधना गरिन्छ ।
शिवरात्री, साउन महिनाको सोमबारमा विशेष मेला लाग्छ । नयाँ वर्ष एवम् अन्य चाडपर्वका बेला वनभोज आउनेहरूको भीड नै लाग्छ ।
रामपुर नगरपालिका ८ भुजातस्थित कालिगण्डकी किनारमा रहेको सिद्धबाबा मन्दिरमा साउनको अन्तिम सोमबार एकैदिन ५८ हजार रुपैयाँ भेटी अर्थात दान संकलन भएको समितिले जनाएको छ । अन्तिम सोमबार करिब ३ हजार भक्तालु आएका थिए ।
भगवान शिवको पूजा आरधना,१०८ शिवलिङ्गको दर्शन गर्नका लागि साउन महिनाको प्रत्येक सोमबार भक्तजनको उल्लेख्य सहभागीता रहेको सिद्धबाबा पर्यटन विकास समिति अध्यक्ष त्रिलोचन अधिकारीले बताउनुभयो ।
यस क्षेत्रको वनभोज जाने पहिलो रोजाइ सिद्धबाबा धाम बनेको छ । सिद्धबाबा भुजात क्षेत्रमा रहेकाे पिपलपाटा सामुदायिक वन क्षेत्रमा पिकनिक स्पाेट् रहेको छ । वनभाेज आउनेबाट वर्षमा २ देखि ३ लाख आम्दानी हुने गरेको अधिकारीले बताए ।
एक दिनमै ३० समूहसम्म वनभोज आउने गरेको अध्यक्ष अधिकारीले अनुभव सुनाउनुभयो । यहाँ शुद्ध खानेपानीको व्यवस्था छ । नदी किनारको शितल मनोरम दृश्य, मन्दिर परिसरमा रमाइलो वातावरण छ । जुन पर्यटकको आकर्षण बनेको छ ।
यहाँ घुम्न आउने, फाेटाे खिच्ने, टिकटक बनाउने, मन्दिर दर्शनका लागि पुग्ने, वनभाेज जानेहरुको दैनिक चहलपहल हुने गर्छ । पाल्पासँगै, स्याङ्जा, नवलपुर, तनहुँबाटसमेत पर्यटक आउँछन् ।
कालीगण्डकी करिडाेर नजिकै रहेको हुँदा पर्यटक आउन सहज भएको छ ।
यस क्षेत्रको विकास र विस्तारका लागि काम भइरहेको छ ।
तीन तहका सरकारले सहयोग गरे यहाँको विकास हुने र यहाँका नागरिकलाई आम्दानीको राम्रो स्रोत हुने स्थानीयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस