सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने

खबर खुराक
१७ कार्तिक २०८० १३:२५

काठमाडौँ, १७ कात्तिक । सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

त्यस्तै उनले उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि बताए । विभागले सादा पोशाकमा कालाबजारी गर्ने व्यापारीको गोदाममा छापा हानिरहेको पनि उनको भनाइ छ ।

अत्यधिक माग भएका बेला दसैंमा चिनीको हाहाकार भएको थियो । उपत्यकाबाहिरका केही जिल्लामा चिनी पाइए पनि काठमाडौंमा भने अभाव नै कायम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी नपठाइ ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममै राख्ने गरेको पनि भेटिएको छ । वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी बिभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने विभागले जनाएको छ

कतिपय पसलहरूले प्रतिकिलो १६० रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *