जिल्ला सहकारी संघ पाल्पाको १३औं वार्षिक साधारण सभा सम्पन्न
मिलन विश्वकर्मा
पुस २३, पाल्पा । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाको १३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सभामा संघका अध्यक्ष भूपति पाण्डेले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आगामी दिनका योजना सुनाउनुभयो । सहकारी बहस, पैरवी कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो । सहकारी संघ तथा संस्थाको क्षमता अभिवृद्धि कार्यक्रम, सहकारी अध्ययन भ्रमण, विकास साझेदारसँग सहकार्यमा विस्तार गर्ने लगायतका योजना रहेको बताउनुभयो । संघमा हालसम्म १३६ वटा सहकारी आवद्ध छन् । जिल्लाभरि २८७ सहकारी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सहकारी संचालकले अनुशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले ल्याएको नीतिलाई पालना गरेर अगाडि बढे समस्या नआउने उहाँले बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा ६ वटा समस्याग्रस्त रहेको बताउनुभयो । ऐन नियमलाई मिचेर काम गर्दा सहकारी समस्यामा परेको उहाँले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय लेखा परिक्षण आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले न्यूनस्तरका जनताको अवस्थालाई उकास्ने काम सहकारीले गर्नुपर्ने बताउनुभयो । सहकारी अभियानलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सामान्य परिवारका सदस्यसँग सहकारीको सामीप्यता जोडिएको बताउनुभयो । पैसा जुटाएर केही व्यक्तिले आफ्नो अनुकूल चलाउदा समस्या उत्पन्न भएको छ । धेरै सहकारी उद्देश्य अनुरूप चलेका छैनन् । अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । कुनै पनि बहानामा निमुखा जनतालाई ठग्ने काम गर्ने छुट छैन । कडा भएर अगाडि बढ्नुपर्ने श्रेष्ठले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष अशोक कुमार शाहीले छरिएर रहेका पूजीलाई राष्ट्रिय पुजीमा जोड्ने र उत्पादनमा लगानी गर्नुपर्ने बताउनुभयो । उत्पादन र उपभोक्ताबीचमा सहकारीले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले सहकारीले सामान्य मान्छेलाई राहत दिने काम गर्नुपर्ने बताउनुभयो । गाउँका किसानलाई बैंकले पत्याउदैनन । सहकारी सहयोगी बन्नुपर्छ । गाउँको उत्पादनमा सहकारीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला बचत तथा ॠण सहकारी संघका अध्यक्ष जगदीश भट्टराईले सहकारीमा विकृति बढेको बताउनुभयो । बाहिर देखिएजस्तो भित्र छैन । औपचारिकता मात्रै पूरा गर्ने काम सहकारीले गरेका छन् । गाउँका भन्दा शहरका सहकारीले नीति नियम मिचेर काम गरेका बुझिएको उहाँले बताउनुभयो । वित्तीय अनुशासनमा नहुँदा संकटमा परिरहेको भट्टराईले बताउनुभयो ।
संघका सल्लाहकार रामजी घिमिरे सहकारी संचालकमा ईमानदारिता र पारदर्शीता हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने उद्यमशीलता र रोजगारमा सहकारीले ध्यान दिनुपर्ने बताउनुभयो ।
सभामा शेयर सदस्य सूर्य रेग्मी, टीकाराम पोखरेल, नरमती सिंजाली समस्यामा परेका सहकारीलाई अनुगमन र सहजीकरण गर्न सुझाव दिनुभयो ।
संघका अध्यक्ष भूपति पाण्डेको अध्यक्षतामा भएको सभामा संघलाई सहयोग गर्ने तानसेन नगरपालिका राम्रो काम गर्दै आएक केही सहकारीलाई सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष कृष्ण भुसालले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्ण भट्टराईले संचालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस