पाल्पामा ५ उद्यमी नगदसहित सम्मानित
मिलन विश्वकर्मा
मंसिर ९, पाल्पा । पाल्पामा ५ जना उद्यमीलाई सम्मान गरिएको छ।
एघारौं राष्ट्रिय उद्योग दिवसको अवसरमा मंगलबार घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले उत्कृष्ट उद्यमी सम्मान गरेको हो ।
घरेलु तथा साना उद्योग संचालन गर्दै आएका उनीहरूलाई नगद १५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको कार्यालय प्रमुख वरिष्ठ उद्योग अधिकृत केशव सुनारले बताए ।
सानो लगानीबाट उद्योग संचालन गरेर पछिल्लो समयमा धेरै जनालाई रोजगार दिन सफल भएका ती उद्यमीलाई सम्मान गरिएको हो ।
न्यू राना ढाका उद्योग माथागढी गाउँपालिका- ३ का फनिसरा गाहा, सरस्वती ढाका उद्योग तानसेन नगरपालिका- ४ का हरिबहादुर रायमाझी, देउराली ढाका उद्योग तानसेन -८ छापका दुर्गाबहादुर सारू,
सावित्री फूड प्रोडक्सन माथागढी-३ का कृष्ण प्रसाद खनाल, चिनारी बहुउद्देश्यीय एग्रीकल्चर फर्म तानसेन १२ बौघागुम्हाका रुकवीर रेश्मीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सम्मान प्रदान गर्नुभएको थियो । स्थानीय स्तरमा सानो लगानीमा व्यवसाय संचालन गरिरहेका उद्यमीलाई तीन तहकै सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय उद्योगहरू बन्द हुँदै गएकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । उहाँले थप्नुभयो, राजनीतिक दलहरू खुल्दै गएका छन्। उद्योगहरू बन्द हुँदै गएका छन्। यस अवस्थाले मुलुकको समृद्धि नहुने सभामुख घर्तीमगरले बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताले हरेको आन्दोलनको निशानीमा उद्योग र व्यापारी पर्ने गरेको बताएका थिए। मुलुकमा लगानी गर्ने वातावरण सिर्जना गर्न सके रोजगारको अभाव नहुने उनीहरूले बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख कासिका गैरेले डुप्लीकेसन नहुने गरी साना उद्योमीलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका माधव नेपाल, नेकपा एमालेका गोकुल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका जगन्नाथ नेपाल, राष्ट्रिय जनमुक्तिका दलबहादुर थापा, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख सूर्यप्रसाद अर्याल, उपभोक्ता हित संरक्षण मंच पाल्पाका अध्यक्ष कृष्णराज अधिकारी, नेपाल घरेलु उद्योग महासङ्घ पाल्पाका अध्यक्ष कमल ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी मंचका अध्यक्ष लक्ष्मण बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य विष्णुप्रसाद खनाल लगायतले शुभकामना दिनुभएको थियो ।
यस्ता खालका सम्मानले निराश बन्दै गएका उद्योगीलाई प्रोत्साहित गर्ने आशा गरिएको छ।
कार्यक्रम विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता हित संरक्षण मंच, उद्योगी व्यवसायी, उपभोक्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यालय प्रमुख केशव सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्योग सहजकर्ता मनोज घिमिरेले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस