देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु

खबर खुराक
२९ पुष २०८० १३:३३

२९ पुस, देवघाट । पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ । काली गण्डकी र त्रिशूली नदीको सङ्गम देवघाटधामको बेणीमा आइतबार बिहान लिङ्गो गाडेर मेलाको सुरुवात गरिएको हो ।

गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराजले धार्मिक विधि अनुसार मन्त्रोच्चारण गरी लिङ्गो गाडेर मकर सङ्क्रान्ति मेलाको सुरुवात भएको घोषणा गर्नुभएको हो ।

दामोदर कुण्डबाट बग्ने कालीगण्डकी र गोसाँइकुण्डदेखि सुरु भएको त्रिशूली नदीको सङ्गम देवघाट क्षेत्रमा मकर सङ्क्रान्तिको दिन देवताहरुले अटन गर्ने वैदिक सनातन धार्मिक मान्यता छ ।

महामण्डलेश्वर पीठाधीश गिरी महाराजका अनुसार देवता अर्थात् देव र अट धातुबाट देवघाट नामकरण गरिएको हो । धार्मिक मान्यता अनुसार वशिष्ठ, विश्वामित्र, जनक, सीता जस्ता सयौं ऋषि महर्षिले तपस्या गरेको तपोभूमिको रुपमा मानिएको देवघाट क्षेत्रमा मकर सङ्क्रान्तिको अवसरमा स्नान गर्नले अदृश्यरुपमा देवीदेवतालाई भेट्ने र मोक्ष प्राप्त गर्न सकिने पौराणिक मान्यता छ ।

प्रत्येक वर्ष मकर सङ्क्रान्ति लगायत विभिन्न हिन्दु धार्मिक पर्वमा मेला लाग्ने देवघाट क्षेत्रमा सबैभन्दा ठूलो मेला माघे सङ्क्रान्तिको अवसरमा लाग्ने गर्दछ । गत वर्षमा भन्दा यस वर्ष भक्तजनको ठूलो उपस्थिति हुने अनुमान देवघाट क्षेत्र विकास समितिको छ । समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष भक्तजनको सङ्ख्या पाँच लाखभन्दा बढी हुनसक्ने अनुमान अनुसारनै मेलाको तयारी र व्यवस्थापन गरिएको छ ।

कार्यकारी निर्देशक बरालका अनुसार मेला भर्न आउने भक्तजनका लागि आइतबार साँझदेखि नै आउनेजाने सडकलाई एकतर्फी गरिनेछ । आँपटारी, बागीश्वरी देवघाट मुख्य सडकमा देवघाटतर्फ जाने पैदलयात्री र फर्कने सवारी साधन एवम् पैदलयात्रीहरुको लागि मात्र प्रयोग गरिनेछ भने देवघाट प्रवेशका लागि रामनगर–देवघाट, दासढुङ्गा—देवघाट र रामनगर–ठिमुरा हुँदै देवघाट तीन वटा मार्ग प्रयोग गरिनेछ ।

कार्यकारी निर्देशक बरालले मेला व्यवस्थित बनाउन चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुसँग समन्वय गरिएको बताउनुभयो । मेलालाई सुरक्षित बनाउन १६० जना स्वयंसेवक, चार सय जनाको हाराहारीमा नेपाल प्रहरी, ८० जना सशस्त्र प्रहरी र ५० जनाको हाराहारीमा नेपाली सेनाको सुरक्षा टिम परिचालन गरिनेछ । मेला स्थलमा व्यवस्थित पार्किङ, सुरक्षित स्नान स्थल, पर्याप्त अस्थायी शाैचालय निर्माण गरिएका छन् ।

त्यस्तै चितवनबाट देवघाटतर्फ जाने झोलुङ्गे पुल जीर्ण भएकाले एक सय जनाका दरले ओहरदोहर गर्नसक्ने गरि व्यवस्था गरिएको छ भने नदीबाट पार गर्नको लागि प्रशस्त मात्रामा डुङ्गा र र्‍य ाफ्टिङ बोटको व्यवस्था गरिएका छन् । मेला परिसरमा प्राथमिक स्वास्थ्य सेवाको लागि रेडक्रस र स्वयंंसेवक परिचालनको व्यवस्था मिलाइएको निर्देशक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलास्थलमा विद्युत् र टेलिफोन सेवालाई अवच्छिन्न सञ्चालन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । चोकचोकमा धुनी बाल्ने प्रबन्ध मिलाइएको छ । नदीमा रेडक्रसको झण्डासहितका डुङ्गा उद्धारका लागि खटाइएकाे छ ।

यसैबिच देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर राना र कार्यकारी निर्देशक सदन बरालले एक विज्ञप्ति प्रकाशित गरी मेलालाई व्यवस्थित बनाउन सबैसँग अनुरोध गरिएको छ । विज्ञप्तिमा १९ वटा बुँदामा मेलालाई व्यवस्थित बनाउने विषय उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *