केन्द्रिय कार्यसम्पदानको समितिको बैठक

कांग्रेसले १२ जिल्लाका प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने

खबर खुराक
८ फागुन २०८० १२:०८

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा १२ जिल्लाका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सो निर्णय गरेको हो ।

‘‘१४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुङ्गो लाग्न नसकेको सङ्घीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुङ्ग्याउनेछ ।’’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं  १, दोलखा, ओखलढुङ्गा, काठमाडाैं क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने जानकारी दिनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसको १४ औ महाधिवेशनपछि केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ सङ्घ एवम् ६ शुभेच्छुक संस्थाका हकमा अध्यक्षसहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि बैठकले गरेको छ ।

भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल लोकतान्त्रिक खेलकुल सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारु सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र नेपाल मुस्लिम सङ्घ छन् ।

शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक, लयर्स एसाेसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रबादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनका प्रतिनिधिहरु पनि महासमिति बैठकमा सहभागी हुन पाउने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ ।



प्रतिक्रिया