विश्व मृगौला दिवस

आज विश्व मृगौला दिवस : स्वास्थ्यमा सजग हुन केपी ओलीको सन्देश

खबर खुराक
१ चैत २०८० १०:५१

१ चैत, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व मृगौला दिवसको अवसरमा आज एक सन्देश जारी गरेका छन् । उनले सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्ने बताउँदै मृगौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको समेत उल्लेख गरेका छन् ।

विश्व मृगौला दिवस प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको मूल नारा ‘मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’भन्ने रहेको छ।  ‘आज विश्व मृगौला दिवस। मृगौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मृगौला प्रत्यारोपण गरिसकेको छु।’–ओलीने भनेका छन्– ‘हाम्रो सानो लापरबाहीले मृगौला बिग्रिन सक्छ। जब मृगौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो।’

ओलीले डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो रहेको बताए। डाइलासिस्  अल्पकालीन रोकथाम मात्र भएको भन्दै उनले मृगौला जोगाउन आफैं सजग हुन सुझाव दिए। ‘डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मृगौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो। स्वास्थ्यप्रति सचेत बनौं, मृगौला जोगाऔं।’



प्रतिक्रिया