शिवालय माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

खबर खुराक
१६ असोज २०८१

मिलन विश्वकर्मा
पाल्पा, १६ असोज । वैदेशिक रोजगारको सिलसिलामा दुबई रहेका एक युवाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका -२ गुठीका अमित कर्माचार्यले स्थानीय शिवालय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । अमित हाल दुबईमा हुनुहुन्छ । उहाँका बुवा सन्तोष कर्माचार्यले विद्यालयमा पुगेर एक कार्यक्रमकाबीच ती सामग्री वितरण गर्नुभएको हो ।

नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्दै आएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ७२ जना विद्यार्थीलाई कापी र सिसाकलम वितरण गरिएको हो । सोही अवसरमा ती विद्यार्थीलाई खाजासमेत खुवाइएको थियो ।

अमितले काम गर्ने कम्पनीका साहू जोन जोनले जन्मदिनको अवसरमा सहयोग गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक दोलकनाथ गैरेले आफू विदेशमा रहेर पनि आफ्नो गाउँमा रहेको विद्यालयका विद्यार्थीलाई सम्झेर सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा उपस्थित स्थानीय सुरेन्द्र कर्माचार्य, धिरेन्द्र कर्माचार्य, प्रदीप कर्माचार्यले यो सहयोगले विद्यार्थीलाई पढ्न प्रेरित गरेको बताउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक भानुभक्त भण्डारीले संचालन गर्नुभएको थियो ।