एनपीएलको समापन, जनकपुर बोल्ट्स बन्यो पहिलो च्याम्पियन, सुदूरपश्चिम रोयल्स उपविजेता
काठमाडौँ, ७ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।
जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । नेपाली खेलकुदमा प्रदान गरिएको यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको छ ।
आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगितामा तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए । २२ दिन चलेको एनपीएलमा ३२ खेल भएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ हुँदै पुरस्कारका रूपमा कार प्राप्त गरे । प्रतियोगिताभरमा सर्वाधिक १७ विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार हात पारे ।
फाइनलमा लाहिरू मिलान्थाको ८७ रनप्रेरित जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको हो । सुरुआती ४ खेल जितेपछि जनकपुरको ब्याटिङ खुल्न सकेको थिएन । तर फाइनलमा जनकपुर पावर प्लेको ६ ओभरमा ७१ र पहिलो १० ओभरमा १०५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो । मिलान्थाले आसिफ शेखसँग ७ ओभरमा ७७ रन जोडेका थिए । मिलान्थाले ४९ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरेपछि जनकपुरले १८५ रनको लक्ष्य ४ बलअघि पूरा गरेको थियो ।
सुदूरपश्चिमले यसै एनपीएलमा जनकपुरलाई दुई पटक पराजित गरेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो ।
यो एनपीएलकै न्यून स्कोरमा रह्यो । सुदूरपश्चिम जनकपुरलाई नै क्वालिफायर–१ मा ८ विकेटले हराएर फाइनल पुगेको थियो । जनकपुरले क्वालिफायर–२ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पार्दै सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो ।
हातमा चोट बोकेका कप्तान अनिल साहबिनै जनकपुरले यो सफलता पाएको हो । ‘मैले हिजो जति पनि व्यक्ति भेटेको थिएँ, सबैले रोयल्सलाई तिमीहरूले जित्न सक्दैनौं भनेका थिए, तर रोयल्सलाई पराजित गर्न सक्छौं भन्ने आत्मविश्वास टिमभित्र हामी सबैलाई थियो,’ जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘सुदूरपश्चिमले उत्कृष्ट सुरुआत गरेको थियो, त्यसमा हामीले उत्कृष्ट पुनरागमन गर्यौं । ब्याटिङमा हामीले अपेक्षा गरेअनुरूपकै प्रदर्शन गरेका हौं ।’




प्रतिक्रिया दिनुहोस