गणतन्त्रको पक्षमा एमाले पाल्पाले निकाल्यो मोटरसाइकल र्‍याली

खबर खुराक
१८ चैत २०८१

मिलन विश्वकर्मा
पाल्पा, १८ चैत । नेकपा एमाले पाल्पाले गणतन्त्रको पक्षमा सोमबार तानसेनमा मोटरसाइकल र्‍याली निकालेको छ ।

गणतन्त्रको पक्षमा आव्हान गर्दै र्‍याली निकालिएको हो । नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा निकालिएको र्‍यालीले तानसेन बजार परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीले गणतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । सयौंको संख्यामा सहभागी र्‍याली तानसेनको टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, मेहलधारा, गैरागाउँ, भुसालडाँडा, शिवालय, भगवतीटोल, अशनटोल, मखनटोल, सिल्खानटोल टक्सार हुँदै पुनः टुँडिखेलमा कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी एमालेका नेता तथा कार्यकर्ताले राजतन्त्र चाहिदैन, शान्ति सुरक्षा कायम गर, तिनकुने घटनाका दोषीहरूलाई कारबाही गर, अराजकता बन्दा गर जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईले गणतन्त्र हटाउन कुनै पनि तत्व सफल नहुने बताउनुभयो । केही मानिसको झुन्डले चाहदैमा राजतन्त्र फर्केर आउने छैन। अराजक प्रवृत्तिले गणतन्त्रलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । अराजकता र लुट मच्याएर हत्या हिंसा गरेर राजतन्त्र ब्युताउने सपना नदेख्न भट्टराईले चेतावनी दिनुभयो । नेपाली जनताले राजतन्त्रलाई सदाका लागि विदा गरिसकेका छन । अब फेरि जनता जागे भने पूर्वराजालाई निकै अप्ठ्यारो स्थिति आइपर्ने उहाँले बताउनुभयो । सामान्य नागरिकको जीवन बिताएर बस्न सुझाव दिनुभयो । सत्तामा बस्ने रहर भए राजनीति गरेर जनताको मत र मन जितेर आउन भट्टराईले चुनौती दिनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले गणतन्त्रको पक्षमा एक भएर अगाडि बढ्न आम नेपाली जनतालाई आव्हान गर्नुभयो ।

एमाले पाल्पाका सचिव रामजी पोखरेल सबैको लोकतान्त्रिक गणतन्त्रले सबैलाई अधिकार सुनिश्चित गर्ने भएकोले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताउनुभयो ।

र्हजार बढी मोटरसाइकलको संख्या रहेको एमाले पाल्पाका उपसचिव तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो ।