रामपुरमा पनि मनाइयो ३२औँ मदन–आश्रित स्मृति दिवस

खबर खुराक
३ जेठ २०८२

शोभाकान्त पाठक

पाल्पा, ३ जेठ । ३२औँ मदन–आश्रित स्मृति दिवस रामपुरमा पनि मनाइएको छ ।

नेकपा एमाले रामपुर नगरकमिटीले मदन–आश्रित स्मृति दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बहुदलीयतामा विश्वास गर्ने, विधिको शासन, संविधानको सर्वोच्चता र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नीतिनै जनताको बहुदलीय जनवादको सिद्धान्त भएको बताउनुभयो । मदन भण्डारीले देखाएको बाटोमा हिंड्नु नै उहाँप्रती सच्चा सम्मान हुने छ ।जनताको बहुदलीय जनबादलाई समयानुकूल सिर्जनात्मक रूपमा प्रयोग गर्दै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । पार्टीका कार्यकर्तालाई सिद्धान्त र विचारमा प्रशिक्षित गर्न पार्टी स्कूल संचालन गर्न लागिएको पनि बताउनुभयो । फरक प्रसङ्गमा उहाँले राजतन्त्र फेरि नव्युतिने गरी अन्त्य गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सल्लाहकार परिषद् सदस्य युवराज खनालले मदन भण्डारी निर्भीक र दुरदर्शी नेता भएको बताउनुभयो । उहाँले प्रतिपादन गरेको सिद्धान्त ,नीति र विचार अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धिराज गौतमले जननेता मदन भण्डारी जनताको बिचमा अतिनै लोकप्रिय भएकोले काठमाडौं जस्तो ठाउँमा बाहालवाला प्रधानमन्त्रीलाई चुनावमा हराउन सफल भएको विगत सम्झिनुभयो बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार एबं लुम्बिनी प्रदेशसभा सदस्य, अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको धरोहर रहेको भन्दै नेपालको कार्लमाक्स भएको दाबी गर्नुभयो ।

नगर कमिटी अध्यक्ष लिलबहादुर गाहाले मदन भण्डारी र जिबराज आश्रितको विचारले एमालेका कार्यकार्ता अनुशासित र पार्टीप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लिल बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विशाल श्रेष्ठ अशोकले स्वागत र सचिव लोकनाथ भट्टराईले संचालन गर्नुभएको थियो ।