सय बढी मध्ये जेभिटीका ७१ प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण, राष्ट्रिय पुरस्कार दाबी गर्न पाउने
मिलन विश्वकर्मा
असार १५, पाल्पा : जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिकधार (इन्जिनियरिङ्ग) तर्फ शतप्रतिशत नतिजा हासिल गरेको छ ।
प्राविधिकधारतर्फ जिल्लाभरिमा यस विद्यालयले मात्र शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताउनुभयो । जनता विद्यालय तानसेनबाट प्राविधिकधारतर्फ २५ जना विद्यार्थीहरू एसईई परिक्षामा सहभागी भएका थिए। सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका उहाँले बताउनुभयो । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ ।
यस विद्यालयबाट एसईई परिक्षामा सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । जसमध्य ३ दशमलव २ जिपिए भन्दा माथि ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यसरी उत्तीर्ण भएको यो संख्याको आधारमा विद्यालय राष्ट्रिय शिक्षा पुरस्कारको लागि दाबी गर्न पाउने भएको छ । नियमानुसार जनता मावि राष्ट्रिय शिक्षा पुरस्कारको दाबी गर्ने स्थानमा पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामजी पोखरेल (भोजराज)ले बताउनुभयो । यस विद्यालयले सहभागीको ४४ प्रतिशत ३ दशमलव २ जिपिए नतिजा ल्याएको उहाँले बताउनुभयो ।
अहिले सरकारी स्तरमा देशभरि राज्यको घोषित नितिअनुसार एसईई परिक्षा २०८१ को नतिजामा १५ औ स्थानमा जनता मावि (जेभेटी) आएको विद्यालय शिक्षक राम प्रसाद ढकालले बताउनुभयो । सय जनाभन्दा बढी विद्यार्थी परिक्षामा सहभागी गराएर ३ दशमलव २ भन्दा बढी जिपिए हासिल गर्ने विद्यार्थीको प्रतिशत ४० भन्दा माथि हुनुपर्ने मापदण्ड रहेको छ ।
जनता माध्यमिक विद्यालय तानसेनबाट एक सय २१ जना विद्यार्थीहरू एसईई परिक्षामा सहभागी भएका थिए । ८६ जना उत्तीर्ण भएका छन् । ७१ प्रतिशत नतिजा हासिल गरेको उहाँले बताउनुभयो । ३.२ जिपिए भन्दा बढी हासिल गरेका विद्यार्थीको संख्या ५३ रहेका छन् । यो नतिजा कूल संख्याको ४४ प्रतिशत हो । ४० प्रतिशतभन्दा बढी उत्तीर्ण गराउने पाल्पाभरि जनता माध्यमिक विद्यालय मात्र भएको उहाँले दाबी गर्नुभयो । यस नतिजाको आधारमा राष्ट्रिय पुरस्कारका लागि दाबी गर्ने अवस्थामा पुगेको ढकालले बताउनुभयो । गतवर्ष ३० प्रतिशत ल्याउनेले दाबी गरेका थिए ।
प्राविधिकधारतर्फ २५ जना परिक्षामा सहभागी भएकोमा २५ जना नै उत्तीर्ण भएका छन् । साधारणतर्फ ६१ ज्ना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयले ‘ए प्लस’ ग्रेड ल्याउने २२ जना, ‘ए’ ग्रेड ल्याउने ३१ जना, ‘बि प्लस’ ग्रेड ल्याउने २६ जना, र ‘बि ग्रेड’ ल्याउने ७ जना रहेका छन ।



प्रतिक्रिया दिनुहोस