‘राजनीतिमा महिलाको सहभागिता’ विषयक अन्तरक्रिया सम्पन्न
मिलन विश्वकर्मा
साउन २७, २०८२
पाल्पा : राजनीतिमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम बुधबार तानसेनमा सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न नगर स्तरीय राजीनितिक पार्टी प्रतिनिधिहरू भूमिका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका थिए । कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीले महिलालाई अझै पनि नेतृत्वदायी भूमिकामा ल्याउन आनाकानी हुने गरेको बताउनुभयो । सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिक हिसाबले महिला अझैपनि पछाडि परेको बताउनुभयो । विगतको तुलनामा महिलाले अधिकार प्राप्त गरेका छन्। तर सोंचेजती अधिकार सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । समानुपातिक प्रणालीको दुरुपयोग भएको छ । पछाडि परेका र पहुँच नपुगेका महिलाका लागि समानुपातिक अधिकार दिन आवश्यक छ । महिलालाई आर्थिक रुपमा सबल बनाउने सके राजनीतिमा महिला सक्रिय हुने चौधरीले बताउनुभयो ।
नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले पाल्पामा एमालेले महिलालाई नेतृत्वमा अवसर दिएको बताउनुभयो । गाउँपालिका देखि वडामा तहसम्म उम्मेदवार बनाएर विजयी गराएको बताउनुभयो । आगामी निर्वाचनमा सबै तहमा महिलाको नाम पनि उम्मेदवारमा सिफारिस गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीले महिलाई नेतृत्वदायी भूमिका ल्याउनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए । सामाजिक, आर्थिक, साँस्कृतिक र राजीतिक हरेक क्षेत्रमा महिलालाई अग्रसर गराउन राजनीतिक दलको नै मुख्य भूमिका रहने उनीहरूले बताएका थिए ।
द एसिया फाउण्डेसनद्वारा सञ्चालित स्थानीय सवलीकरण कार्यक्रमको सहकार्य र दलित महिला केन्द्र नेपालको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा महिलाको वर्तमान अवस्था, चुनौती र आगामी दिनमा राजनीतिक दलले नेतृत्वमा ल्याउन के गर्न सकिन्छ भन्नेबारे दलित महिला केन्द्रका कार्यक्रम संयोजक रिजू रसाइलीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार लगायतको सहभागिता रहेको दलित महिला केन्द्र तानसेनका फिल्ड प्रतिनिधि निर्मला शाहीले बताउनुभयो ।
गुराँस आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत भरत आचार्यले सञ्चालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस