महाकवि देवकोटा क्यापसमा दोस्रो रोजगार मेला सम्पन्न
बुटवल । महाकवि देवकोटा क्याम्पस पदस्थापन शाखाको आयोजनामा स्नातक र स्नातकोत्तर तह अध्ययन गर्दै गरेका साथै अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई रोजगारी प्रदानगर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो रोजगार मेला–२०८२ सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय विधायक पूर्व मन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको विशिष्ट आतिथ्यता, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णु प्रसाद पौडेलको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पस संरक्षक, क्याम्पस आजीवन सदस्य , शैक्षिक क्षेत्र, उत्पादन क्षेत्र, निर्माण क्षेत्र, बैंक तथा वित्तिय क्षेत्र, होटल व्यवसायीक क्षेत्रका रोजगार दाता गरी जम्मा २९ वटा संघ संस्था, उद्योग साथै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा रोजगारीको लागि ईच्छुक विद्यार्थीहरु, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका गरी २०० बढीको उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री बस्नेतले वर्तमान समयका विद्यार्थीहरु बढी महत्वाकांक्षी भएको हुनाले रोजगारीको लागि समस्या भएको भन्दै विद्यार्थीहरुको क्षमता विकासको लागि सीप मूलक शिक्षामा जोड दिनु पर्ने साथै विद्यार्थीहरुलाई रोजगार सिर्जना तर्फ नभएर स्वरोजगार बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथि पौडेलले नेपालमै बसेर आय आर्जनमा लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
रोजगार दाता कम्पनीहरुको तर्फबाट सूर्य ज्योति लाइफ इन्स्युरेन्स लि.का प्रदेश प्रमुख प्रेम प्रसाद अर्यालले काम गर्ने दक्ष जनशक्ति नपाएको वर्तमान परिप्रेक्षमा क्याम्पसले गरेको रोजगार मेला कोषेढुङ्गा सावित भएको विचार व्यक्त गर्नुभयो । त्यसै गरी लक्ष्मी स्टिल प्रा. लि. का प्रबन्धक दामोदर पौडेलले वर्तमान समयका शिक्षालयहरुले विद्यार्थी भित्रका आशा र अपेक्षा जगाउनतर्फ लाग्नु पर्ने भन्दै नेपाली माटोमा बसेर यसलाई फलाउने फूलाउने कार्यमा लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा पदस्थापन शाखाका संयोजक शिक्षक केशव प्रसाद भण्डारीले महाकवि देवकोटा क्याम्पसद्वारा आयोजित रोजगार मेलाको बारेमा स्पष्ट पार्नुभएको थियो ।
उक्त रोजगार मेलामा २९ उद्योगका प्रतिनिधिहरुसंग देवकोटा क्याम्पसबाट स्नातक साथै स्नातकोत्तर अध्ययन पुरा गरेका साथै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले रोजगारीका लागि अन्तर्वार्ता दिएका थिए । जसमा शैक्षिक क्षेत्रतर्फ १० जना, निर्माण क्षेत्रतर्फ ९७ जना, उत्पादन क्षेत्रतर्फ ४७ जना, हस्पिटालिटी क्षेत्रतर्फ २७ जना, बैंक तथा वित्तिय क्षेत्रतर्फ ३८ जना सहभागी भएका थिए । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु दक्ष र अनुशासित भएको हुनाले रोजगारी प्रदान गर्न रोजगारदातालाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।



प्रतिक्रिया दिनुहोस