एमाले पाल्पाले मनायो संविधान दिवस

खबर खुराक
३ असोज २०८२

मिलन विश्वकर्मा

पाल्पा, ३ असोज । नेकपा एमाले पाल्पाको आयोजनामा ११औं संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा
नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोगका सदस्य
नारायणी शर्मा घिमिरे नेपालको संविधान र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस संविधान प्रगतिशील र अग्रगामी संविधान हो । सबैको अधिकारलाई सुनिश्चित गरेको उहाँले बताउनुभयो । यद्यपि समयानुकूल संशोधन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

पुरानो पुस्ताले नयाँ पुस्ताको भावना बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । पुरानो पुस्ताको सिकाई अनुभव र योगदानलाई सम्मान गर्न सके मुलुक अझै बलियो हुने घिमिरेले बताउनुभयो । भ्रष्टाचार र अनियमितता गर्ने जस्ता कार्यलाई निरुत्साहित गर्दै सबै नेपाली राष्ट्र र राष्ट्रियता रक्षार्था जुट्नु पर्ने बेला आएको छ । जनताको प्रत्यक्ष सहभागितामा बनेको संविधानको रक्षा नै महत्त्वपूर्ण रहेको संविधान सभा सदस्य घिमिरेले बताउनुभयो ।

दलको विकल्प छैन । किशोर र युवाको मनोभावनालाई बुझेर दल र नेताले राजनीति गर्नुपर्ने कार्यक्रममा सहभागीले सुझाव दिएका थिए ।  जनप्रतिनिधिले जनताको आवाजलाई बेवास्ता गरेका कारण यो समस्या निम्तिएको हो । अहिलेका नेता सच्चिन पर्छ । घरघरमा पुगेर पार्टीले आफ्ना योजना बारे जानकारी गराउनुपर्ने उनीहरूले बताए ।

संविधान प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ । उमेर हद कायम गरेर निर्वाचन प्रणाली सुधार हुनुपर्छ । दलको विकल्प छैन । एमाले पार्टीको विकल्प नभएको कार्यक्रममा सहभागीले दाबी गरे ।

नेतृत्व स्वीकार्नुपर्छ । नेताहरूमा सुधार हुनुपर्ने उनीहरूले बताए ।

२२ वर्षीय अमृत बस्यालले युवालाई पार्टीमा ठाउँमा दिनुपर्ने बताउनुभयो । आधुनिक मुद्दामा पार्टीले काम गर्नुपर्ने बताउनुभयो । अर्का युवा उत्सवी ढकालले अपराधिक घटनाबारे छानबिन गर्नुपर्ने बताउनुभयो । सबै उमेर समूहकालाई राजनीतिमा जोड्नुपर्ने बताउनुभयो ।

जेन्जी शिर्षा पौडेलले संविधान छ तर अधिकार नपाएको गुनासो गर्नुभयो । शिक्षा भएपनि रोजगारका लागि विदेशीन बाध्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले सबैभन्दा धेरैको सहभागितामा बनेको संविधान उत्कृष्ट रहेको बताउनुभयो । संविधान खारेज गरेर होइन संशोधन गरेर जेन्जीको मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

अर्का सल्लाहकार परिषद् सदस्य पर्शुराम भट्टराईले परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । युवा पुस्ताका भावनालाई बुझेर राजनीति गर्नुपर्ने उहाँले बताउनुभयो ।

निवर्तमान प्रतिनिधि सभा सदस्य नारायण आचार्यले अनुशासित ढंगले माग राख्नुपर्छ । जिम्मेवार नेताले सुनेर माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । भूराजनीतिक र शक्ति सन्तुलनका कारणले पनि आन्दोलन भड्किएको बताउनुभयो । केपी वलीले राष्ट्रको पक्षमा अडान लिंदा नेपालका जेन्जीको आन्दोलनमा घुसपैठ भएको बताउनुभयो । शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने संविधान मै उल्लेख छ । तर व्यक्ति कुटपिट गर्नु, निजी र र  सार्वजनिक सम्पत्तिमा आगजनी हुनु दुःखद् भएको आचार्यले बताउनुभयो । गलत काम गर्नेलाई एमाले पार्टीले संरक्षण गर्दैन । विधिको शासन र कानुनको पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले स्वागत गर्नुभएको कार्यक्रममा सचिव रामजी पोखरेलले संचालन गर्नुभएको थियो ।

अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा करिब २०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । ठूलो संख्याको उपस्थितिले अप्ठ्यारोमा परेको एमाले पार्टीलाई उत्साह थपेको घर्ती मगरले बताउनुभयो ।  युवा पुस्ताको माग र सहभागितालाई पाल्पा एमालेले पनि सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा मुलुकको वर्तमान अवस्था। संविधानको रक्षा र एमाले पार्टीले खेल्नुपर्ने भूमिका बारेमा सुझाव दिएका थिए ।