एमाले पाल्पाले वडादेखि जिल्लासम्म जनप्रदर्शन गर्ने, १० हजार कार्यकर्ता उतार्ने

खबर खुराक
२१ कार्तिक २०८२


मिलन विश्वकर्मा
कात्तिक २१, पाल्पा । नेकपा एमाले पाल्पाले जनप्रदर्शन गर्ने भएको छ ।

एमाले पाल्पाको शुक्रबार तानसेनमा बसेका सचिवालय बैठकले ८१ वडा, १० पालिका र जिल्ला सदरमुकाम तानसेनमा छुट्टाछुट्टै जनप्रदर्शन गर्ने निर्णय गरेको हो । वडा र पालिका कमिटीले भेला तथा प्रदर्शन गर्नेछन् । जिल्ला पार्टीले भने जनप्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो ।

यहि कात्तिक २२ अर्थात् भोलि वडा वडामा भेला तथा जनसभा हुनेछ। २५ गते सबै पालिकामा जनसभा तथा भेला हुनेछ। २९ गते तानसेनमा बृहत जनप्रदर्शन हुने उहाँले बताउनुभयो । करिब १० हजार नेता तथा कार्यकर्ता उपस्थित हुनेगरी तयारी थालिएको उनले बताए। गाउँगाउँबाट सहभागी हुने घर्तिमगरले बताउनुभयो । उहाँका अनुसार शान्तिपूर्ण रुपमा जनप्रदर्शन सम्पन्न हुनेछ । संविधानको रक्षार्थ एमालेले देशैभरि प्रदर्शन तथा जनसभा गर्दै छ ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले संविधानको रक्षार्थ जनप्रदर्शन गर्नुपरेको बताउनुभयो । यसअघि पालिका कमिटी र जनसंगठनले दिएका सुझाव केन्द्रीय कमिटी बैठकमा जानकारी गराएको उहाँले बताउनुभयो । पार्टीले स्थानीय स्तरबाट नै प्राप्त भएका सुझावका आधारमा जनताको पक्षमा काम गर्ने योजना बनाइरहेको बताउनुभयो ।

वडा, पालिका र जिल्लामा गरिने बृहत भेला तथा जनप्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

उहाँले जेनजी आन्दोलनलाई समर्थन गर्नुभयो । यद्यपि उहाँले भन्नुभयो, २३ गतेसम्म उनीहरूले गरेको आन्दोलन ठीक थियो । २४ गतेको आन्दोलन भने गलत मनसायले भएको छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । यो दुखद् हो । यसको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्नु पनि गलत भएको उहाँले जिकिर गर्नुभयो । गैरे पूर्व प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

बैठकले किसानको धानबाली खेतीमा भएको नोक्सानबारे सरकारको ध्यानाकर्षण गराएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।

बैठकमा उपसचिव दीपक विश्वकर्माले केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले निर्णय गरेर जारी गरेको अन्तर पार्टी निर्देशनबारे जानकारी गराउनुभएको थियो ।

अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षतामा भएको बैठकमा सचिव रामजी पोखरेलले सञ्चालन गर्नुभएको थियो । बैठकमा उपाध्यक्ष विमल काफ्लेले स्वागत गर्नुभएको थियो । बैठकमा जिल्ला सचिवालय सदस्य, प्रदेश तथा केन्द्रका नेताको सहभागिता रहेको थियो ।