जेन्जीको भावना अनुसार काम गर्ने छु : विशाल दर्लामी

खबर खुराक
८ माघ २०८२

मिलन विश्वकर्मा
पाल्पा, ८ माघ । राष्ट्रिय जनमोर्चाको तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार विशाल दर्लामीले आफू निर्वाचित भएपछि जेन्जीको भावना अनुसार काम गर्ने बताउनुभएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले मुलुकमा परिवर्तन खोजेको पुष्टि भएको छ। आन्दोलनकै क्रममा अनाहकमा युवाको मृत्यु भएको छ । अत्यन्तै दुःखद् घटना भएको उहाँले बताउनुभयो । ´म आफै पनि युवा हो। युवाको दुख, समस्या, आवश्यक र मागलाई बुझ्न सक्छु ।` उहाँले भन्नुभयो ´मैले युवाको नेतृत्व गर्न सक्ने क्षमता राख्दछु । निर्वाचित भएपछि जेन्जीको मागलाई पूरा गर्ने प्रयास गर्ने छु।`

कतिपय ऐन कानुन जनताको हितमा छैनन् । सहि कानुन,  जनपक्षीय कानुन निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी भएको उहाँले बताउनुभयो । पाल्पा जनता र सरकारको बीचमा पुलको काम गर्ने छु । विकास निर्माणका योजनाहरूको व्यवस्थापन गर्न पैरवी गर्ने उहाँले बताउनुभयो । पाल्पाको विकासमा नवीनता ल्याउने मेरो प्रयास हुने छ । पाल्पा जिल्लाको विकासलाई प्रभाकारी बनाउन पुरानो सोच र तरिकाले हुँदैन । नवीन योजनाका साथ आम पाल्पालीकै सुझाव सल्लाह अनुसार विकास निर्माणका काममा पहल गर्ने उहाँले बताउनुभयो ।

ऐतिहासिक पर्यटकीय जिल्ला पाल्पालाई संसद र सरकारमार्फत अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान गराउनका लागि पनि आफूलाई निर्वाचित गराउन दर्लामीले आग्रह गर्नुभयो । पर्यटकीय क्षेत्रको विकास गरेर यहीँ रोजगार सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।
कृषिको संभावना बोकेको जिल्ला पाल्पा हो । यहाँका भुइँस्तरमा रहेक जिविको गर्दै आएका मजदुर किसानको पक्षमा आवाज उठाउने उहाँले बताउनुभयो ।जनताको सारथि बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले पनि युवा नै छु । २३ वर्षको राजनीति जीवन र सामाजिक कामको अनुभवले विकासका काम गर्न सहज हुने उहाँले दाबी गर्नुभयो ।

आफूलाई मत दिएर पाल्पाली जनताको सेवा र विकास गर्ने मौका दिन दर्लामीले पाल्पा क्षेत्र नम्बर २ का मतदातालाई अपिल गर्नुभयो ।