एमाले पाल्पा २ को बैठक, चुनावी अभियान सुरू
मिलन विश्वकर्मा
पाल्पा, ८ माघ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ को विस्तारित बैठक बिहीवार तानसेनमा सम्पन्न भएको छ ।
आजै देखि चुनावी अभियान लाग्ने निर्णय गरेको छ । एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेलाई अत्यधिक बहुमत सहित विजयी गराउने गरी रणनीति बनाएर अभियानमा लाग्ने निर्णय भएको निर्वाचन परिचालन मूल समितिका सचिव रामजी पोखरेलले बताउनुभयो ।
यही माघ १६ देखि क्षेत्र नम्बर २ का सबै पालिकाका विभिन्न ठाउँ चुनावी कार्यक्रम संचालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । विभिन्न समयमा घरदैलो अभियान हुनेछ ।
बैठकले पार्टीका लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर गुरुङको संयोजकत्वमा चुनावी प्रतिबद्धता पत्र लेख्ने उपसमिति गठग गरेको छ । सदस्यहरूमा ध्रुव अधिकारी, राजेश कुमार अर्याल, आर ढकाल र एस खनाल रहेका पार्टी क्षेत्रीय कमिटी उपाध्यक्ष नवीन थापाले बताउनुभयो ।
बैठकमा प्रमुख अतिथि एमाले पाल्पा २ का प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले आफूले पहिलो कार्यकालमा सुरु गरेका योजनालाई पूर्ण गर्नका लागि मत दिएर विजयी गराउन अपिल गर्नुभयो ।
संसदमा जनतामैत्री नीति बनाउने काममा पहल गरेको थिएँ । पाल्पाको विकास निर्माणमा बजेट तथा योजना ल्याउने कामको सुरुवात भएको थियो । बीचमा नै संसद भंग भएको हुँदा पाल्पाली जनतासँग गरेका सबै बाचा अधुरो रहेका उहाँले बताउनुभयो । विगतका प्रतिबद्धता पूरा गर्नुका साथै आगामी दिनमा पाल्पाली जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर संसद सरकारलाई खबरदारी गर्ने गैरेले बताउनुभयो ।
जति समय संसद रहे त्यतिबेलासम्म इमानदार र प्रतिबद्ध भएर पाल्पाको विकासमा लागेको थिएँ । अधुरो योजना सम्पन्न गर्नका लागि फेरि संसदकै भूमिका आवश्यक रहेको हुँदा अमुल्य मत सहित विजयी गराउन आम पाल्पालीलाई आग्रह गर्नुभयो ।
बैठकमा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । निर्णय कार्यान्वयनमा लाग्न उहाँले अनुरोध गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस