जनताको सेवक भएर काम गर्ने छु : नारायण आचार्य ।
मिलन विश्वकर्मा
पाल्पा, १८ माघ : नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको सेवक भएर काम गर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामपुर नगर कमिटीको भेलामा बोल्दै उहाँले यस अघि जनप्रतिनिधिको भूमिकामा रहेर काम गर्दा सेवक नै बनेको थिएँ । संसद बीचमा भंग हुँदा पूरा कार्यकाल काम गर्न पाइन । यस क्षेत्रको विकासका काम अधुरो नै रहेका छन् । अधुरो कामलाई पूर्णता दिनका लागि आफू पुन: उम्मेदवार भएको उहाँले बताउनुभयो । आफूलाई अत्यधिक मत दिएर विजयी गराउन अपिल गर्नुभयो ।
खालिवन-जब्कादी-ताहुँ-आर्यभञ्ज्याङ मोटरबाटो र रामपुर-बेलडाँडा- मित्याल-अरुणखोला मोटरबाटाे स्तरोन्नतिको कामलाई प्राथमिकता दिएर काम गर्ने उहाँले बताउनुभयो ।
आफूले पहल गरेर यहाँको विकासका लागि प्राप्त गरेका बजेट पछिल्लो सरकारले कटौती गरेको उहाँले बताउनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्न र समृद्ध रामपुर निर्माणका लागि यहाँका जनताको सुझाव सल्लाह अनुसार योजना बनाएर अगाडि बढ्ने छु । शिक्षा स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन क्षेत्रको विकासमा लाग्ने आचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पूर्व पोलिटब्यूरो सदस्य एवं पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले जेन्जी आन्दोलनको दुरुपयोग भएको बताउनुभयो । सिहंदरबार, संसद भवन, अदालत, प्रहरी चौकी लगायत देशको संरचना जलाउने काम भएको छ । देश र जनताको हितमा नभई केवल नेकपा एमालेलाई प्रहार भएको उहाँले बताउनुभयो । असंवैधानिक रूपमा संसद विघटन गरिएको रानाले बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं संविधानसभा सदस्य राधाकृष्ण कंडेलले सबै देश बचाउनु पर्ने बेला आएको बताउनुभयो । अहिले देश अप्ठ्यारोमा परेको छ । देशलाई बचाउनका लागि नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं पूर्व प्रदेश सभा सदस्य युवराज खनाल, एमाले जिल्ला कमिटी अध्यक्ष एवं समानुपातिक पदका उमेदवार ओमबहादुर घर्ती मगर, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दुर्गादेबि राना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष विमल काफ्लेले देश जलाउनेलाई होइन देश बनाउनका लागि एमालेका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पिपिएलएका पूर्व उपमहासचिव शिव अर्यालले गैरकानुनी रूपमा संसद विघटन गरिएको बताउनुभयो । एमाले चुनावमा भाग लिएर अगाडि बढेको छ । स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेको समानुपातिक पदका उमेदवार रोजिरन खातुन, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्देश ढकाल लगायतले मुलुकको परिवर्तन र विकासका लागि नेकपा एमालेको उमेदवारलाई विजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष लीलाबहादुर गाहाले पार्टीको गतिविधि र फागुन २१ गते हुने चुनावको तयारीका विषयमा जानकारी दिनुभएको थियो ।
उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा नगर कमिटी सचिव लोकनाथ भट्टराईले संचालन गर्नुभएको थियो ।
सोही अवसरमा रामपुर नगरपालिका- ३ओइरेघाट निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता दानबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
लीलाबहादुर गाहाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस