उत्कृष्ट गाउँपालिका अध्यक्षदेखि संघीय संसदको यात्रा : यस्तो छ खिम बहादुर थापा मगरको ‘समृद्ध स्याङ्जा’ रोडम्याप

खबर खुराक
३ फागुन २०८२

मिलन विश्वकर्मा

पाल्पा, ३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार खिम बहादुर थापा मगरले आफ्नो ‘सङ्कल्प पत्र’ (घोषणापत्र) सार्वजनिक गर्नुभएको छ।

‘समृद्ध स्याङ्जा, सुखी स्याङ्जाली’ को नारासहित सार्वजनिक गरिएको उक्त पत्रमा भौतिक पूर्वाधार, कृषि, पर्यटन र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।

कालीगण्डकी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका थापाले आफ्नो कार्यकालमा गाउँपालिकालाई देशकै उत्कृष्टमध्ये एक बनाउन सफल भएको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पूर्वाधार र सडक संजाल: प्राथमिकतामा कालीगण्डकी करिडोर

थापाको सङ्कल्प पत्रमा सडक पूर्वाधारलाई समृद्धिको पहिलो आधार मानिएको छ। उहाँले निर्वाचन क्षेत्रभित्रका सबै पालिका केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने, शालिग्राम करिडोरको पूर्णता दिने र सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने योजना अघि सार्नुभएको छ। यस्तै, आँधिखोला र कालीगण्डकीमा आवश्यक स्थानमा पुल निर्माण गर्ने कार्यलाई पनि प्राथमिकता दिइएको छ।

कृषि र पर्यटन: ‘एक घर, एक धारा’ र धार्मिक सर्किट

कृषि क्षेत्रको आधुनिकिकरणका लागि कालीगण्डकीको पानी लिफ्टिङ प्रविधिमार्फत सिँचाइ पुर्‍याउने र बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउने सङ्कल्प पत्रमा उल्लेख छ। पर्यटनतर्फ भिरकोट, स्वरेक, आलमदेवी र रानीमहलसम्मलाई समेटेर ‘धार्मिक पर्यटकीय सर्किट’ निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै, आगामी ५ वर्षभित्र व्यावसायिक जल यातायात (स्टिमर) सञ्चालनमा ल्याउने दाबी गरिएको छ।

शिक्षा, स्वास्थ्य र रोजगारी

• शिक्षा: हरेक पालिकामा व्यावसायिक शिक्षाको प्रोत्साहन र सरकारी शैक्षिक संस्थाको गुणस्तर सुधार।
• स्वास्थ्य: निर्वाचन क्षेत्रमा एक सुविधासम्पन्न अस्पताल निर्माण र ‘एक घर, एक शुद्ध पिउने पानीको धारा’ कार्यक्रम सम्पन्न गर्ने।
• रोजगारी: ‘एक पालिका, एक उद्योग’ को अवधारणा मार्फत स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने।

सामाजिक न्याय र सुशासन

उम्मेदवार थापाले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने र प्रशासनिक ढिलासुस्ती हटाउन नीतिगत सुधार गर्ने वाचा गर्नुभएको छ। सामाजिक न्यायका लागि जेष्ठ नागरिक र बालबालिकाका लागि सुविधासम्पन्न स्याहार केन्द्र (वृद्धाश्रम र बालश्रम) निर्माणको पहल गर्ने समेत उहाँले बताउनुभएको छ।

युवा र खेलकुद

युवाहरूको क्षमता विकासका लागि प्रत्येक वडामा व्यायाम केन्द्र र पालिकास्तरमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने योजना सङ्कल्प पत्रमा समेटिएको छ। पकवादी बेलचौरमा निर्माणाधीन क्रिकेट रंगशालालाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

“अनुभव, इमान र विकास नै मेरो मुख्य विशेषता हो,” उम्मेदवार थापाले भन्नुभएको छ, “स्याङ्जाली जनताको भावनालाई संघीय संसदमा सशक्त रूपमा प्रस्तुत गर्न म दृढ सङ्कल्पित छु।”