सामुदायिक रेडियो रामपुरलाई ट्रान्समिटर र मिक्स्चर सहयोग
पाल्पा, २८ फागुन । सामुदायिक रेडियो रामपुरलाई ट्रान्समिटर र मिक्स्चर सहयोग प्राप्त भएको छ ।
लुम्बिनी प्रदेशसभा अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठले सामुदायिक रेडियो रामपुरलाई ट्रान्समिटर तथा मिक्स्चर हस्तान्तरण गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट आर्थिकबर्ष २०८२/०८३ मा विनियोजित बजेट १० लाख रुपैंया लागतमा खरिद गरिएको सामाग्री आज हस्तान्तरण गर्नुभएको हो ।
सामान हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशसभा अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठले समुदायको सक्रियतामा समुदायकै हितका लागि संचालनमा रहेको रेडियोको विकासका लागी आफ्नो कार्यकालमा सहयोग गर्ने इच्छा पूरा भएको बताउनुभएको छ ।
उहाँले गाउँमा रहेको संचार संस्था कालीगण्डकी सामुदायिक विकास केन्द्रद्वारा संचालित सामुदायिक रेडियो रामपुरलाई अझ सशक्त, प्रविधिमैत्री र जनताको आवाजलाई प्रभावकारी बनाउनका आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
सभापति श्रेष्ठले प्रविधिगत सुदृढिकरण, सेवा विस्तार तथा जनतासँग सुचनाको पहुँचलाई थप मजबुत बनाउने विश्वास समेत लिनुभएको छ । सभापति श्रेष्ठले रेडियो संचालक समितीका अध्यक्ष राजेन्द्रप्रसाद लम्साल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोख्रेल सहित रेडियो संचालक समिति तथा कर्मचारीबिचको रोहबरमा सामाग्री हस्तान्तरण गर्नुभएको उपाध्यक्ष छाँयाचन्द्र पंगेनीले जानकारी दिनुभएको छ ।
लामो समयदेखि पुरानो ट्रासमिटरबाट आकाश गर्जेका बेला तथा बर्षातको समयमा समस्या झेल्दै रेडियो संचालनलाई निरन्तरता दिइएकोमा ट्रान्समिटर तथा मिक्स्चर उपलब्ध भएपछि ठूलो राहत महशुस भएको समितीले जनाएको छ । ट्रासमिटर उपलब्ध भएपछि रेडियोको संचार सेवालाई थप प्रभावकारी तथा व्यवस्थित ढंगले संचालन गरिने रेडियोका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरेले बताउनुभयो ।
उहाँले ट्रासमिटरमा समय समयमा समस्या देखिएर पटक पटक मर्मत गर्दै चलाउदै गरेकोमा जोड दिदै लामो समयदेखि बजेट अभावका कारण सामान खरिद गर्न नसकिएकोमा सभापति श्रेष्ठको पहलमा लुम्बिनी प्रदेश सरकारले रेडियोलाई गुन लगाएकोमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस