पाल्पा एमालेद्वारा सरकारको गम्भीर ध्यानाकर्षण: उच्चस्तरीय छानबिन आयोग र केपी ओलीको रिहाइको माग
पाल्पा, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले), जिल्ला कमिटी, पाल्पाले वर्तमान सरकारका गतिविधिहरू र समसामयिक राष्ट्रिय मुद्दाहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गरिएको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै घोर निन्दा र भर्त्सना गरिएको छ ।
एमालेले उहाँहरूलाई निःशर्त र अविलम्ब रिहाइ गर्न जोडदार माग गरेको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असहमति
एमालेले २०८२ भदौ २३ र २४ गतेका घटनाहरूको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई “विवादास्पद” र “पूर्वाग्रही” भन्दै खारेज गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आयोगको प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधता दिने दस्तावेजको रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ ।” एमालेले सो घटनाको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
महँगी र अभावको अन्त्य गर्न माग
जिल्ला कमिटीले बजारमा ग्याँस, डिजेल, पेट्रोललगायत दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव र चर्को मूल्य वृद्धिका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेको छ । यी समस्याहरूलाई तत्काल सम्बोधन गर्न एमालेले सरकारसँग जोडदार माग गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा
विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा छिमेकी देशहरू चीन र भारतबाट भइरहेको हस्तक्षेपप्रति वर्तमान सरकार मौन बसेकोमा गम्भीर आपत्ति जनाइएको छ । “यो सरकारले यस विषयमा कुनै चासो नदेखाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
एमालेले नेपाली भूभागमा नेपालीको व्यवहारिक स्वामित्व स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
पार्टीले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा सधैँ उभिने प्रतिबद्धता दोहोर्याउँदै सरकारलाई जनविरोधी र अलोकतान्त्रिक कामहरू नगर्न सचेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस