पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल

खबर खुराक
१३ भदौ २०८३

मिलन विश्वकर्मा

पाल्पा, १३ भदौ । पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः कृष्ण पोखरेल निर्वाचित हुनुभएको छ ।

संस्थाको शनिबार तानसेनमा सम्पन्न १६औ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको निर्वाचन अधिकृत बाबुराम कार्कीले जानकारी दिनुभयो ।

उपाध्यक्ष कृष्ण गहतराज, सचिवमा विनोद भारती, कोषाध्यक्षमा बसन्ती ढकाल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा विश्वराज भट्टराई, किशोर भट्टराई, अम्बिका बस्याल र किरण कौशल निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद खेमबहादुर सारूले पाल्पाको पर्यटन र शिक्षा स्वास्थ्य र स्थानीय निकायलाई जवाफदेही बनाउने काम गरेको बताउनुभयो । पत्रकारको समेत क्षमता विकास गर्ने कार्यक्रम राम्रो रहेको बताउनुभयो । मुलुकको आर्थिक र सामाजिक विकासमा यस संस्थाले काम गरेको भन्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमका लागि योजना बनाएर अगाडि बढाउन सुझाव दिनुभयो । जिल्ला प्रदेश र सिंगो मुलुक रुपान्तरण गर्न टेवा पुग्ने कार्यक्रम संचालन गर्न अनुरोध गर्नुभयो ।

तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले सेवा र कार्यक्षेत्र विस्तार गर्न संस्थालाई शुभकामना दिनुभयो । तानसेन नगरपालिकाले सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।

पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्र जिसीले संस्थाको गतिविधि प्रशंसनीय रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा यस संस्थाका पूर्व सल्लाहकार मेघराज शर्माले यस संस्थाले पाल्पाको पर्यटन विकासका लागि निकै महत्त्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । स्थानीय तहलाई सबल बनाउने खालका कार्यक्रम गरेको बताउनुभयो । पारदर्शी र जवाफदेही भएर संस्थालाई अगाडि बढाउन सुझाव दिनुभयो ।

गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष यादव शर्माले समाज परिवर्तनमा गैरसरकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । पाल्पामा ५०० संस्था दर्ता छन् । ३०० संस्था मात्र नवीकरण भएका उहाँले बताउनुभयो । गैरसरकारी संस्थालाई साझेदारीको रूपमा काम गर्ने वातावरण मिलाउन तीन तहकै सरकारलाई अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले संस्थाले संचालन गरेका मिडिया र मिडिया कर्मीको क्षमता विकास कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ पत्रकार मेघराज शर्मा र पूर्व जिविस सभापति झपेन्द्र जिसीलाई दोसल्ला, सम्मान पत्र र नगदले सम्मान गरिएको थियो ।

संस्थाक अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बसन्ती ढकालले ३७ लाख रुपैयाँ बढीको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कार्यक्रम प्रमुख किरण कौशल संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले नीति पात्रो अनलाइन पोर्टल चलाउदै आएको बताउनुभयो । संस्थाले पत्रकारिता, सुशासन लगायतका क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनमा निर्वाचन खर्च कसरी हुन्छ, कहाँ हुन्छ, सामाजिक परिक्षण, भिडियो डकुमेन्ट्री , किताब मार्फत प्रकाशन गरेर विकास निर्माणका गतिविधि बाहिर ल्याउने काम गरेको उहाँले बताउनुभयो ।

केन्द्रका उपाध्यक्ष कृष्ण गहतराजले स्वागत गर्नुभएको कार्यक्रममा सचिव विनोद नेपालले संचालन गर्नुभएको थियोे ।

यसैबीच कार्यक्रमका अवसरमा दृष्टि पात्रो अनलाइनको शुभारम्भ गरिएको छ ।