रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही अदालतबाट पक्राउ पूर्जी जारी
१२ जनालाई पक्राउ पुर्जीसहित अनुमति दिएको स्रोतको दाबी, रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी
भैरहवा, ८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ।
बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो।
अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ। तर, कास्की प्रहरीले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएकोले म्यादअवधी पश्चात रुपन्देही ल्याइने सम्भावना देखिएको छ।



प्रतिक्रिया दिनुहोस